विद्यार्थीहरुप्रति

रिपोर्ट नेपाल | 2023 Jun 19 | 02:14 pm 1513

कविता – खगेश्वर काेइराला

जति खर्च लाग्ला पढाउने कोसिस
बुबाआमाबाट भएको हुन्छ सोच
खान लाउन दुःख खेपाई सहेर
विद्यालय प्रवेश गराउनु भो आएर ।

सरस्वती बन्दना भित्री मनदेखि
सधैं सम्झना होस् मनमा लेखी लेखी
विद्याभन्दा ठूलो अरु केही छैन
धनसम्पत्ति त्यो बरु चाहिंदैन ।

क्षणिक धनबाट जति गर्छ काम
विद्या आर्जन भए आजीवन सम्मान
आफ्नै लागि अनि पढ्नु ध्यान दिएर
विद्या आर्जन गर गुरु आज्ञा लिएर ।

डाक्टर, इन्जिनियर लक्ष्य ठूलै बन्ने
जिज्ञासा लिई सधैं अघि बढ्ने
कोपिला छौ नानी छैनौ फक्रिएका
विद्या आर्जन गरी बन सप्रिएका ।

देउ सधैं अध्ययनतिर तीब्र ध्यान
गर ज्ञान हासिल दिई दिलो ज्यान
सबै छौ कलिला जस्तै फूल कोपिला
फूल फक्रेजस्तै बनिदेऊ जोसिला ।

ढाँट्नै पर्ने भए विद्यामा नढाँट
बलभित्र विद्या कहिल्यै नदाँज
विद्याको खानी हो विद्यालय तिम्रो
अध्ययन पूरा होस् लिई ज्ञान राम्रो ।

सुन्दर फूलबारी जसरी मगमगाउने
बनिदेऊ यो धर्तीमा तिमी जगमगाउने ।

(यात्रा कविता सङ्ग्रहमा प्रकाशित )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.