विदेश शयरमै व्यस्त नेकपा नेता, पार्टीको काम प्रभावित

| 2018 Sep 02 | 06:34 am 1628

काठमाडौं, भदौ १७: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन्। पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) को एकीकरण प्रक्रिया प्रभावित भएको छ। ९ सदस्यीय सचिवालयमा अहिले दुईजना विदेशमा भने दुई नेता विदेश जाने तयारीमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन्।

भारत सरकारको निमन्त्रणमा अध्यक्ष पुष्पकमल दाहाल २२ भदौमा भारतको ५ दिने भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपाको एउटा टोली चीन जाँदैछ। श्रेष्ठ नेतृत्व टोलीको भ्रमणलाई सचिवालय बैठकले अनुमोदन पनि गरिसकेको छ। श्रेष्ठ चीनमै रहेका बेला अध्यक्ष दाहाल असोज १ मा चीन भ्रमणमा जाने कार्यक्रम छ।

शीर्ष नेताहरू विदेशमा रहेपछि १९ र २० भदौका लागि बोलाइएको स्थायी समिति बैठक प्रभावित हुने देखिन्छ। वरिष्ठ नेता नेपाल भदौ २० र पोखरेल लेवनान–पोल्यान्ड हँुदै भदौ २३ मा स्वदेश फर्कनेछन्।

अमेरिकाको सिकागोमा आयोजित नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल १४ भदौमा त्यसतर्फ गएका थिए। पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गतको लेबनानस्थित नेपाली शान्ति मिसन अवलोकनका गएका हुन्।

नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवाड शीर्ष नेताहरूको ब्यस्त कार्यतालिकाका कारण स्थायी समिति बैठक प्रभावित हुन सक्ने बताउँछन्। ‘वरिष्ठ नेता नेपाल अमेरिका भ्रमणमा हुनुहुन्छ । अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ’, खतिवडाले भने, ‘यसले पार्टी स्थायी समिति बैठक सर्ने सम्भावना छ।’

एकता प्रक्रियाको महत्वपूर्ण निर्णय वरिष्ठ नेता नेपालको अनुपस्थितिमा दुईअध्यक्ष केपी ओली र पुष्पकमल दाहालले मात्र लिन सक्ने अवस्था अहिले छैन ।

यसअघि नेकपाले पार्टीका तल्ला कमिटी तथा जनसंगठनको एकीकरणका काम टुंगो लगाउन भदौ ८ र ९ मा स्थायी समिति बैठक बोलाएको थियो । तर केही जनसंगठन र प्रदेश कार्यादलले प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइ नसकेको, बुझाएका प्रतिवेदन पनि विवादरहित नभएपछि बैठक १९ र २० गतेका लागि सारिएको थियो ।

नेकपाले तीन महिनाभित्र पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंग्याउने बताएको थियो। ३ जेठमा पार्टी एकता भए पनि सचिवालय, स्थायी समिति र केन्द्रीय समिति चयनबाहेक अन्य प्रक्रिया पुरा भएको छैन । नेताहरूको विदेश भ्रमण मोहले भदौ महिनाभर यो प्रक्रियाले पूर्णता नपाउने देखिन्छ।

विदेशमा रहेका नेता

माधवकुमार नेपाल –अमेरिका

ईश्वर पोखरले–लेबनान् –पोल्यान्ड

विदेश जाने तयारीमा रहेका

पुष्पकमल दाहाल –भारत–चीन

नारायणकाजी श्रेष्ठ – चीन

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.