विदेशमा पढेका ८८% डाक्टर असफल, धरापमा जनस्वास्थ्य

| 2018 Jul 16 | 07:54 am 3899

काठमाडौं, ३२ असार: नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ। तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ।

एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ। तर, विदेशमा कस्ता विद्यार्थी गएका छन् र कस्तो शिक्षा लिएर आएका छन् भन्ने अह्म प्रश्न छ। गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए। यसरी एमबिबिएसतर्फ ८८% र बिडिएसतर्फ ९०% डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन्।विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन्।

नेपाल सरकारको अथवा सम्बन्धित देशको छात्रवृत्ति पाएर पनि विद्यार्थी विदेश जान्छन्। तर, यसको संख्या सीमित छ। नेपालमै मेडिकल साइन्स पढ्न पनि प्रवेश परीक्षामा उत्कृष्ट नम्बर ल्याउनुपर्छ। योग्यताक्रममा पछि परेका तर अभिभावकले पैसा तिर्न सक्ने विद्यार्थीलाई विदेशको विकल्प खुलै रहन्छ। यसरी विदेश जाने धेरैजसो विद्यार्थी तुलनात्मक रूपमा कमजोर मानिन्छन्।

शैक्षिक स्तर कमजोर भए पनि डलरमा पैसा तिरेको कारणले चीन, बंगलादेश, पाकिस्तान र फिलिपिन्सजस्ता देशका विश्वविद्यालयमा भर्ना सजिलै पाइन्छ, तर हरेक विद्यार्थीलाई भर्ना दिने कलेजले गुणस्तरीय शिक्षा दिन सक्दैन। त्यसैले विश्वविद्यालयबाट एमबिबिएस पास गरेर आएका डाक्टर पनि लाइसेन्स लिने परीक्षामा असफल हुन्छन्।

एकपटक असफल भए पनि मेडिकल काउन्सिलमा पटकपटक परीक्षा दिन पाइन्छ। कतिपय विद्यार्थीले ३६ पटकसम्म पनि परीक्षा दिएको उदाहरण छन्। जुनसुकै मूल्यमा पनि डाक्टर हुन्छु भनेर सपना देखेका विद्यार्थीको भविष्य त बन्न सक्छ, तर त्यस्ता मेडिकल जनशक्तिबाट आमजनताको स्वास्थ्यमा भने गम्भीर खेलबाड हुन्छ। तर, गुणस्तरीय चिकित्सा शिक्षाका लागि डा. गोविन्द केसीले निरन्तर आन्दोलन गरेपछि विदेश जाने विद्यार्थीको पनि परीक्षा लिन थालिएको खबर नयाँ पत्रिका दैनिकमा छ।

परीक्षामा पास भएका विद्यार्थीले मात्र मेडिकल काउन्सिलको सिफारिसमा शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट पाउँछन्। यसो गर्दा एमबिबिएस पढ्न विदेश जाने विद्यार्थीको संख्या आधाभन्दा पनि धेरै घटेको छ । अघिल्ला वर्षहरूमा करिब एक हजार विद्यार्थी मेडिकल पढ्न विदेश जाने गरेकोमा अहिले यो संख्या ४५० मा झरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.