विज्ञापन बोर्डले विज्ञापन नियमन र प्रवर्धनका लागि रणनीतिक कार्ययोजना बनाउँदै

रिपोर्ट नेपाल | 2020 Dec 10 | 08:36 am 2925

काठमाडौं, मंसिर २५ः मुलुकको विज्ञापन बजारलाई नियमन गर्दै व्यवस्थित र अनुशासित बनाउने उद्देश्यले सरकारद्वारा गठित विज्ञापन बोर्डले आफ्नो कार्य प्रारम्भ गरेको छ । बोर्डले बुधबारदेखि कार्यालयसमेत स्थापना गरी आफ्नो कामलाई प्रभावकारी रूपमा अघि बढाएको हो ।

काठमाडौंको बबरमहलस्थित हुलाक सेवा विभाग परिसरमा स्थापना गरिएको विज्ञापन बोर्डको नयाँ कार्यालय भवनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गरेका छन् । गुरुङले देशभरको विज्ञापनलाई एकीकृत गर्दै समानुपातिक वितरण हुने गरी व्यवस्थापन गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर आवश्यक नीति बनाउनुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री गुरुङले हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई पूर्ण रूपमा हटाउने गरी सोहीअनुसारको नीति निर्माण गरिनुपर्नेमा जोड दिए । उनले विज्ञापन बोर्डले ऐन नियमको परिधिमा रहेर विज्ञापन नियमन गर्ने ऐन २०७६ तथा नियमावली २०७७ को मर्म र भावनाअनुसार विज्ञापन प्रवर्धन गर्ने मापदण्ड निर्धारण गर्ने एवं सबै सरोकारवालासँगको सहभागितामा विज्ञापनका कामलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिए ।

विज्ञापन बोर्डका अध्यक्ष एवं सञ्चार मन्त्रालयका सहसचिव डिल्लीराम शर्माका अनुसार बोर्डले आफ्नो कार्य प्रभावकारी रूपमा अघि बढाइरहेको छ । उनले मन्त्रीले दिएको निर्देशन र विज्ञापन बोर्डको उद्देश्यअनुसार आफूहरूले कार्य प्रारम्भ गरेको जानकारी दिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.