लुम्बिनी, जेठ ३ः नेपाल–भारतबीच दुई देशको सम्बन्धलाई अझ घनिष्ठ र फलदायी बनाउन बृहत् साझेदारी र सहकार्यसाथ अघि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच भएको द्विपक्षीय भेटवार्तामा दुई देशका सरकार प्रमुखले विकास साझेदारीको नयाँ आयाम थपेर अघि बढ्ने सहमति गरेका हुन् । दुई देशबीचको सम्बन्ध अकाट्य रहेको स्मरण गर्दै नेपालको औपचारिक भ्रमणमा सोमबार लुम्बिनी आएका भारतका प्रधानमन्त्री मोदीले द्विपक्षीय वार्ता फलदायी भएको स्मरण गरे ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीसँग लड्न भारत सरकारको सहयोगका लागि भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भूकम्पपछिका सम्पदालगायतको पुनर्निर्माणमा भारतको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । दुवै पक्षबीच कनेक्टिभिटीमा सहयोग प्रवर्द्धन गर्ने, मलको आपूर्ति सहज बनाउने, पारवहन सन्धि, व्यापार सन्धिको पुनरवलोकन गर्नुपर्नेमा सहमति भएको छ ।
त्यसका अतिरिक्त हवाई प्रवेश मार्ग, जलविद्युत् उत्पादन, बौद्ध सर्किट र रामायण सर्किटसहित संस्कृति र पर्यटन, शिक्षा र शैक्षिक सहयोगका बहुपक्षीय क्षेत्रमा दुई प्रधानमन्त्रीले छलफल गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । व्यक्तिगत रूपमा बोकिने भारतीय मुद्रामा न्यूनतम सीमा बढाउने तथा अन्य पारस्परिक हितका मामिलामा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा सहयोग आदानप्रदान गर्ने सम्बन्धमा दुई प्रधानमन्त्रीले परामर्श गरेका छन् । गाेरखापत्र दैनिकबाट