विकास निर्माणमा समस्या परे तत्कालै समाधान गरिन्छ : प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल | 2019 Jan 28 | 05:47 pm 1693

काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा कुनै समस्या देखिए तत्काल समाधान गर्ने बताएका छन् ।  चीन सरकारको सहयोगमा  निर्माण भएको कोटेश्वर कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विकास निर्माणमा कुनै समस्या देखिए आफू चुप बस्न नसक्ने बताए । उनले भने, ‘तीव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस्। आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरू हटाउँला’ ।

कलंकी कोटेश्वर सडक निर्माणमा विभिन्न समस्याका कारण भएको ढिलाइप्रति आफू दुखी भएको पनि प्रधानमन्त्री ओलीले बताए । ‘विकास हामीलाई चाहिएको छ, यही सडक बन्दा पनि विभिन्न समस्या आएको कुरा राजदूतले भन्नुभयो’ उनले भने, ‘तलबाट काम भएन भने मन्त्रिपरिषदमा आउनुपर्‍यो, कानून बाधक बन्यो भने संशोधन गर्नुपर्‍यो, तर विकास निर्माणमा कुनै पनि समस्या हुनुभएन ।’

समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लागि छिमेकी देशहरूबाट बहुआयामिक रूपमा सहयोग लिनु परेको उनले उल्लेख गरेका छन्। ‘नेपाल विकास र उन्नतिका लागि चीनले उदार र फराकिलो मनसायका साथ सहयोग गरेको छ। यसको म प्रशंसा गर्न चाहन्छु’ उनलेभनेका छन्।

दुई देशबीच पछिल्लो समय सम्बन्ध अझ सुमधुर हुँदै गएको प्रधानमन्त्री ओलीले बताए । सन् २०१६ मा भएको आफ्नो भ्रमणपछि नेपाल–चीनबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको प्रधानमन्त्री ओलीले दावी गरे । नेपाल पछिल्लो समय चीनसँग आर्थिक तथा सामाजिक विकासका हिसाबले पनि नजिकिएको उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.