काठमाडौं, पुस २२: वायु प्रदूषणलाई धूम्रपानभन्दा घातक मानिन्छ। यसबाट श्वासप्रश्वास, क्यान्सर एवं मुटुजन्य समस्याको जोखिम हुने चिकित्सक बताउँछन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बम वायु प्रदूषण धूमपानभन्दा हानिकारक रहेको बताउँछन्।
सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको वातावरण विभागले जनाएको छ। विभागले बालबालिका, वृृद्धवृद्धा एवं दमखोकीजस्ता स्वासप्रश्वाससम्बन्धि र मुटुका बिरामीलाई घरबाहिर ननिस्किन अपिल गरेको छ। काठमाडौं उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरु नेपालगन्ज र विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च पाइएको छ। काठमाडौंवासीले आँखा पोल्ने गरेको गुनासो गरेको चिकित्सक बताउँछन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १० मृतकमध्ये एक जनाको वायु प्रदूषणबाट ज्यान जाने गरेको जनाएको छ। कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा युद्धसहित सबै खाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरिएको छ। वायु प्रदूषणका कारण हुने मृत्युको संख्या धूमपानबाट हुनेभन्दा धेरै भएको उक्त अध्ययनमा उल्लेख छ।
काठमाडौं उपत्यकामा पुराना सवारी साधन धूवाँको मुस्लो छाड्दै गुडिरहेका छन्। सडक भत्काउने तर समयमा नबनाउने गर्दा धुलोका कणहरु बढेका छन्’, डा. बम भन्छन्, ‘जाडोमा आद्र्रता (ह्युमिडिटी) घट्ने हुँदा हावा सुख्खा हुन पुग्छ। यस्तो बेला विभिन्न भाइरस र ब्याक्टेरियाका लागि अनुकूल समय मानिन्छ।
वायु प्रदूषणले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने भएकाले मास्क लगाउनुपर्ने सुझाव डा. बमको छ। ‘यति बेला सबै उमेरका व्यक्तिहरु नै घरबाहिर भरसक ननिस्कनु नै राम्रो हो’, उनी भन्छन्, ‘निस्कनै परे विशेष सावधानी अपनाउनुपर्छ। मास्क लगाउने र दिउँसोतिर हिंडनु उपयुक्त हुन्छ।’
वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहे केहि समयसम्म प्रदूषण अझैं खराब हुने सम्भावना रहने हुनाले विशेष सावधानी अपनाउन वातावरण विभागले प्रेस विज्ञप्ति मार्र्फत अनुरोध गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट