वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि एमालेका दुई उम्मेदवार एक आपसमा भिड्दै

रिपोर्ट नेपाल | 2021 May 19 | 07:45 am 2001

हेटौंडा, जेठ ५ः निर्वाचन आयोगले वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनकालागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । भोलि बिहीबारकालागि तय गरिएको उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कोरोना महामारीको संक्रमणकाबीच हुन लागेको उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिर्वाय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

गृहमन्त्री रामबहादुर थापा एमालेमा प्रवेश गरेका कारण माओवादीले राष्ट्रिय सभाको सदस्यबाट उनलाई पदमुक्त गरिएपछि रिक्त स्थान पदपूर्तिकालागि उपनिर्वाचन तय गरिएको हो । उनी २०७४ सालको निर्वाचनमा माओवादीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उपनिर्वाचनमा नेकपा एमालेका गृहमन्त्री रामबहादुर थापा ‘ बादल’ र डा खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा हुनेछ । थापा एमालेमा भर्खरै प्रवेश गरेका हुन् भने देवकोटा एमालेका पुराना सदस्य हुन् । एमालेकै असन्तुष्ट झलनाथ खनाल र माधव नेपाल पक्षले विपक्षी दलहरूसँग गठबन्धनमा एमालेकै बुद्धिजिवी संगठनका खिमलाल देवकोटालाई प्रतिद्वन्द्वी उम्मेदवार उठाएको हो ।

डा देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनका समर्थन रहेको छ । यस अघि देवकोटा बागमती प्रदेश नीति योजना आयोगका पूर्वअध्यक्ष हुन् । उनी २ वर्ष अध्यक्ष रहेका थिए । उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह कलम दिएको छ ।

त्यस्तै नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएपनि मुख्यतः दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.