काठमाडौं, फागुन १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडवडी खरिद प्रकरणमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने दाबी गरेको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा अख्तियार प्रमुख नवीन घिमिरेले बायु सेवा निगमका एयरबस जहाजका विषयमा अनुसन्धान थालेको जानकारी दिए ।
उनले पूर्व पर्यटनमन्त्री, वहालवाला पर्यटनमन्त्री लगायत सबैलाई अनुसन्धानको दायरामा ल्याइने बताए । संघीय संसद राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बोल्दै प्रमुख आयुक्त घिमिरेले निगमको बाइडबडी विमान प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको बताए।
उनले खरिद प्रक्रियामा जोडिएका सबैसँग अख्तियारले बयान लिने क्रम जारी रहेको र प्रमाण संकलनको काम पनि भइरहेको बताए। ‘बयान लिने काम चलिरहेको छ, अहिलेलाई अख्तियारले विस्तृत अनुसन्धान थालेको छ भनेर बुझ्नुहोस्,’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहान्न।’ उनले खरिदमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको बताए।
उनले वाइडबडी जहाजका विषयमा विस्तृत अनुसन्धान भइरहेको बताए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन मन्त्रालय सम्हालेकै बेलामा वाइडबडीका लागि पहिलो किस्ता निकासा भएकाले यो प्रकरणमा देउवा पनि जोडिने छन्।