वर्षैभरी विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियान

रिपोर्ट नेपाल | 2018 Jun 02 | 04:11 pm 3448

काठमाडौँ, १९ जेठ : सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइ राख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन दोस्रोचरणको अभियान सञ्चालनको तयारी गरेको छ ।

“एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व” भन्ने नाराका साथ सञ्चालित पहिलो चरणको अभियानमा विद्यालय बाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) अठासी हजार २०७ मध्ये ७६ हजार ६५७ विद्यार्थी भर्ना भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार कक्षा १ देखि ८ (५ देखि १२ वर्ष उमेर समूहका) तीन लाख १३ हजार २८९ मध्ये दुई लाख ५३ हजार ५५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् ।

सरकारले संघीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा उल्लेख भएको विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियानलाई सार्थक बनाउन वर्षभरी छुटेका विद्यार्थीलाई आगामी असोज २ गतेसम्म भर्नामा ल्याउने सम्बन्धी दोस्रो चरणको विद्यार्थी भर्ना कार्यक्रमको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न लागिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

“अब हरेक प्रदेशका विद्यार्थी भर्नाको एक अलग्गै कक्ष (डेस्क) खडा गरी नियमित भर्ना र टिकाउ कार्यक्रम सञ्चालन गरिनेछ,” मन्त्री पोखरेलले भने, “यो प्रदेश र स्थानीय तहको कार्यक्षेत्र पनि हो, यसमा केन्द्र सरकारले आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि अभियान सफल बनाउन स्थानीय तहलाई पत्राचार गरेको थियो ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको रारामा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गर्नुभएको थियो । वैशाख ५ गते एकैदिन प्रधानमन्त्री, मन्त्रीगण र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई–मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि अभियानमा उत्साह थपिएको थियो ।

सरकारले शैक्षिक सत्र २०७५ का लागि निःशुल्क पाठ्यपुस्तक वितरण गर्न रु दुई अर्ब २२ करोड २२ लाख बजेट विनियोजन गरिएकामा पाठ्यपुस्तक प्रायः सबै विद्यालयमा पुगेको शिक्षा विभागको दाबी छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.