वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य एक सातमै दोब्बर

रिपोर्ट नेपाल | 2020 Jul 26 | 07:29 am 1591

काठमाडौं, साउन ११ः वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

उनले भने, साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर–तेब्बर भएको छ । यो बाढीको बहानामा बिचौलियाले खेलेको खेल हो ।

उनका अनुसार बिचौलियाले आलु प्रतिकिलो २० रुपैयाँमा ल्याएर उपभोक्तालाई ६० देखि ७० मा बिक्री गरिरहेका छन् । उपभोक्ताले प्रतिकिलो ८० देखि ९० रुपैयाँमा बोडी किन्छन् । तर, उनीहरूले किसानबाट प्रतिकिलो १५ रुपैयाँमा बढी खरिद गर्छन् ।

बिचौलियाले १५ रुपैयाँमा किनिएको काँक्रो ६०–७० रुपैयाँमा बिक्री गरिरहेका छन् । वर्षा र बाढीको बहाना बनाएर हरियो तरकारीमा प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढी मूल्य लिइएको महर्जनले बताए ।

सरकारले बजारमा अनुगमन नगर्दा बिचौलियाको हावी बढेको उनको भनाइ छ । उनले भने, बिचौलिया कम गर्न सरकारले मूल स्रोतमै अनुगमन गर्नुपर्छ । किसान र बजार तहको मूल्य निर्धारण गर्नुपर्छ ।

कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले अविरल वर्षाका कारण उपत्यकामा हरियो तरकारीको मूल्य बढेको बताए । विभिन्न ठाउँमा बाढीपहिरो आउँदा काठमाडौं उपत्यका आउने तरकारीको आपूर्ति कम भएको उनले बताए । बजारमा आपूर्ति कम हुँदा तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको खतिवडाको भनाइ छ । उनका अनुसार उपभोक्ताले सहज मूल्यमा तरकारी पाउन काठमाडौं उपत्यकामा दैनिक १३ सय मेट्रिक टन आउनुपर्छ ।

खतिवडाले भने, अहिले विभिन्न ठाउँमा पानी परिरहेकाले दैनिक ५ सयदेखि ६ सय मेट्रिक टन मात्र हरियो तरकारी आउँछ । तरकारीको आपूर्ति नै कम हुँदा उपत्यकामा पछिल्लो साता तरकारीको मूल्य बढेको हो ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अविरल वर्षाका कारण हरियो तरकारीको मूल्य बढेको बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.