वर्षाको ताण्डव ! पहिरोमा घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीनको मृत्यु

| 2018 Jul 02 | 03:34 pm 5546

मुलुकभर भीषण वर्षा र बाढीको कहर छाएको छ । कतै शहरबजार नै डुबानमा परेका छन् भने कतै पुलपुलेसा बगेका छन् । पहिरोले सडक अवरुद्ध हुनु सामान्य बनिसक्यो, हुँदा हुँदा सडकमा गुडिरहेको बससमेत बाढीमा बगेका खबर आएका छन् ।

यस्तै क्रममा लगातारको वर्षाले घर भत्कँदा रोल्पामा एक शिशुसहित तीनजनाको मृत्यु भएको छ । वर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा उद्धारपछि उपचार हुनुअघि नै तीन जनाको ज्यान गएको हो ।

स्थानीय प्रहरीले जनाएअनुसार अधिक वर्षापछि पहिरो खस्दा दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकास्थित सैबाङ गाउँका राजकुमार विकको घर पहिरोले भत्काएको हो । पहिरोको प्रहारसँगै उनको कच्ची घर पुरिएको थियो ।

पहिरो खस्दा घरभित्र रहेका राजकुमारकी २२ वर्षकी सुत्केरी पत्नी कमला र १८ दिने छोरी आयुषाको पुरिएर ज्यान गएको हो । घटनामा उनीहरुका छिमेकी दाइकी १५ वर्षीया छोरी चित्रा विकको समेत ज्यान गएको बताइएको छ ।

उद्धारका लागि घटनास्थल पुगेका प्रहरीबाट प्राप्त जानकारीअनुसार घरमाथि पहिरो खस्दा सुत्केरीसहितले भान्सा कोठामा आगो ताप्दै गरेकी थिइन् । अघिल्लो दिनदेखि निरन्तर भइरहेको अधिक वर्षाका कारण घर भत्कनुअघि कसैले पनि जानकारी पाएनन् ।

सुत्केरी कमला दुर्घटनापछि घाइते भएकी थिइन् । लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई उपचार गर्न होलेरीस्थित प्राथमिक सेवा केन्द्रतिर लैजान खोजिएको थियो । त्यही क्रममा कमलाको मृत्यु बाटैमा भएको बताइएको छ । कमलाका श्रीमान राजकुमार भने वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.