वर्तमान सरकारले गरेको स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुँने : सभापति देउवा

| 2018 Sep 08 | 03:36 pm 1918

बुटवल, भदौ २३: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथि गरेको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

शनिबार बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवको उपलक्ष्यमा मन्तव्य दिदै सभापति देउवाले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य भएको बताए । साथै सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न पनि आग्रह गरेका छन् ।

वार्षिकोत्सवमा नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं–५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न परे पनि आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न नसक्ने बताए ।

पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको खाँणले उल्लेख गरेका छन् ।

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिम हमाल लगायतले सरकारले सबै क्षेत्रमा कर लगाएर जनताको ढाँड सेक्ने काम गरेको बताए ।

वार्षिकोत्सवमा वरिष्ठ पत्रकार बाँकेका पन्नालाल गुप्ता,लन टेनिश खेल प्रशिक्षक विकास खड्का, लोकगायिका मन छन्त्याललाई नगदसहित सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.