वरिष्ठ सङ्गीतकार कर्माले नारायण गोपालको विवाहकाे रहस्य खोले

| 2018 Dec 05 | 03:37 pm 2000

काठमाडौं, मंसिर १९ : स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवसको अवसरमा ‘नारायण गोपाल सङ्गीत कोष’ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ सङ्गीतकार कर्मा योञ्जनले नारायण गोपालको विवाहकाे रहस्य खोलेका छन्।

उनले नारायण गोपाललार्इ सम्झिँदै भने, ‘एक दिन नारायण दार्जिलिङ आएको बेला एक्कासि दार्इ ल सुकेपोखरी जाँऊ भन्यो। मैले किन भनेर सोध्दा पहिले जाऊ सब थाहा भइहाल्छ भनेर टारे। त्यसपछि नारायण, गोपाल (गोपाल योञ्जन), नगेन्द्र थापा र म सुकेपोखरीतिर लाग्यौँ। करिब ४५ मिनेटको बाटो थियो। बाटोमा नारायणले भन्यो, ‘दार्इ तपार्इं मेरो गार्जियन हुनुपर्छ, आज मेरो विवाह हो।’ जाँदा त पेमलाको घरमा सबै बिहेको तयारी भइसकेको थियो। त्यो त मेरो लागि सरप्राइज नै भयो। त्यसअघि पहिलो पटक नारायण गोपाल दार्जिलिङ आएको थियो र एकपटकमात्रै पेमलालार्इ भेटेको थियो। उसले त्यही बेला विवाहकाे कुरा गरी सकेका रहेछ।’

कर्मा र नारायणको पारिवारिक नाता थियो। नारायण गोपाल गुर्वाचार्य र गोपाल योञ्जन मित थिए। अनि गोपाल योञ्जन कर्मा योञ्जनका भाइ थिए। त्यसकारण कर्मालार्इ नारायण गोपालले दाइ भनेर सम्बोधन गर्थे।

त्यसैगरी गीतकार नीर शाह पनि निकै भावुक भए। उनले नारायण गोपालको आँगनीमा आउन मन नपर्ने उल्लेख गर्दै भने, ‘म पेसाले कलाकार, हलुंगो जिन्दगी बाँच्ने रुचाउने मान्छे, जब यो घर सम्झिन्छु अनि निकै भावुक हुन्छु र मन भारी भएर आउँछ।’ नीरले थपे, ‘नारायण गोपाल अझै जीवितै छन्। यो घरको झ्यालबाट हेरेर ‘माछा पाक्यो, लौ माछा खान आउँ’ भनेर बोलाइरहेजस्तो लाग्छ।’

नारायण गोपाल निकै मुडी मान्छे भएको निर शाहको टिप्पणी छ। उनले विगत सम्झँदै भने, ‘एकदिन नारयाणगोपालले ल हिँड एक ठाउँ जाऊ भनेर मोटरसाइकलको पछाडि बस्न आग्रह गर्नुभयो। उहाँले मोटरसाइकल अहिलेको सालिको भएको ठाउँमा रोक्नुभयो र यता पुरै जंगलको बीचमा ल्याएर यहाँ घर बनाउँदै छु। ल विश्लेषण गर भन्नुभयो। त्यस समयदेखि संगत गरेको मैले यो घरका हरेक कुनाले केही अभिव्यक्त गरिरहेजस्तो लाग्छ र म निकै भावुक हुन्छु।’

नारायण गोपालले सङ्गीतको पुरानो परम्परालार्इ भत्काएर नयाँ युगको थालनी गरेको निरले शाहले बताए। सङ्गीत अध्यता समेत रहेका नारायण गोपाल गायक मात्र नभएर वरिष्ठ सङ्गीतकार पनि भएको निरको दाबी छ। उनले भने, ‘जसरी गोपाल योञ्जनको गायिकलार्इ उनको सङ्गीतले छायामा पारेजस्तै नारायण गोपालको गायकीले उनको संगितकारीतालार्इ छायामा पारेको हो।’

नीरले वरिष्ठ सङ्गीतकार कर्मा योन्जनलार्इ सङ्गीतको बिलाउन लागेको एक युगका अन्तिम पात्र भनेर सम्बोधन गरे। वरिष्ठ गीतकार डा दिर्घसिंह बमले नारायण गोपालको नायकमा नै अभिनय समेटिएको बताए। ‘नारायण गोपालको स्वरमा नै अभिनय भेटिन्छ’, उनले थपे, नारायण गोपालको स्वरमा गीत सुन्दा मानिसलार्इ निकै भावुक बनाउँछ, रुवाउँछ कि त मनलार्इ आनन्द दिन्छ, मन खुसी पार्छ।’

बमले नारायण गोपालको शब्द चयन र शब्दभित्रको गहिरामा पुगेर स्वर भर्ने कला अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरे। कार्यक्रमका संगितक्षेत्रमा क्रान्ति ल्याउन विशेष योगदान गर्ने पाँच स्रष्टालार्इ सम्मानसमेत गरिएको थियो। कार्यक्रममा सम्मानित हुनेमा वरिष्ठ सङ्गीतकार कर्मा योञ्जन, गीतकार निर शाह, गीतकार डा दिर्गसिंह बम, गीतकार विश्वम्भर प्याकुरेल र राजेन्द्र रिजाल हुन्। उनीहरुलार्इ नगदसहित सम्मानपत्र कोषकी अध्यक्ष उषा शेरचनले हस्तान्तरण गरेकी थिइन्।

नारायण गोपालले एक सय ३७ गीतमा स्वर भरेका छन्। उनका हरेक गीतले एक साङ्गीतिक युगको प्रतिनिधित्व गरेको सङ्गीतकर्मीले बताएका छन्। नारायण गोपालको सम्झनाका करिब ६ करोड लगानीमा अडिटोरियम हल बनाउने योजना अघि बढेको काठमाडौँ महानगरपालिका-१९ का वडाध्यक्ष तथा कोषका महासचिव दिपक केसीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.