दोलखा मंसिर १८ : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा गरिएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा दोलखा कांग्रेसले विरोधसभा गर्दै नारा जुलुससहित आन्दोलित भएको छ ।
सरकारले नियोजित ढंगले वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दोलखा कांग्रेसले नारा जुलुससहित आन्दोलित भएको हो । सदरमुकाम चरिकोटस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालिएको थियो ।
सातदोबाटो चोकमा कोणसभाको आयोजना गरी कांग्रेस दोलखाले भ्रस्ट र अधिनायकवादी जगमा उभिएको सरकारको यो घटना प्रति विरोध गरेको थियो। सातदोबाटोमा आयोजित कोणसभामा कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।
सभापति खड्काले कांग्रेसका वरिष्ठ नेतामाथि भएको दमन र धरपकड इतिहासमै नेपाली जनताका लागि कालो दिन भएको उक्त्त कोण सभामा बताए ।