तनहुँ, साउन ११ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा वन मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ साबिक बरभन्ज्याङ गाविस९ कायम भानु नपा ६ ढुङ्गागाडेका ६७ वर्षीय भिम बहादुर अधिकारी र तनहुँ साबिक व्यास नपा ५ कायम व्यास नपा १० डिहिगाउँका ४५ वर्षीय अशोक थापा रहेका छन् ।
अभियुक्त भिम बहादुर अधिकारी उपर तनहुँ जिल्ला अदालतको २०७० चैत १२ गतेको फैसलाले ३ महिना कैद १९ हजार ७ सय १३ रुपैयां २ पैसा र अशोक थापा उपर २०७२ भदौ २३ गतेको फैसलाले २ महिना ८ दिन कैद र १५ हजार जरिवाना तोकिएको थियो ।
उक्त तोकएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनीहरुको खोजतलास गर्ने क्रममा २०७७ साउन ११ गते घरमै फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्राउ गरी उनीहरुलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएकोमा बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको प्रहरीले जानकारी दिएको छ ।