झापा, वैशाख २६: भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए। यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राही मार्कामा परेका छन्।
वडा कार्यालयमा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, जन्मदर्ता, विवाहदर्ता, योजना सिफारिस, नागरिकता सिफारिसलगायत वडाबाट हुने काम लिन सास्ती भोग्नुपरेको वडासदस्य चन्द्रशंकर अधिकारीले बताए। वडा कार्यालयबाट धेरै काम हुन्छ, त्यसैले नागरिकको चाप त हुन्छ नै, वडाध्यक्ष, सदस्य र सचिव सबै भूमिगत भए। काममा समस्या छ, अधिकारीले भने।
वडा कार्यालयमा हाल आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए पनि आफूले वडा कार्यालयबाट हुने कुराको धेरै अध्ययन गर्न बाँकी रहेको र वडा सचिवसमेत कार्यालयमा नहुँदा समस्या पर्ने गरेको उनले बताए। नजिकै रहेको ३ नम्बर वडाका सचिव लक्ष्मण तामाङलाई २ नम्बर वडाको पनि काम गर्ने जिम्मेवारी दिइएको छ।
कचनकवल गाउँपालिकाले सोमबारदेखि तामाङलाई दुईवटै वडाको जिम्मेवारी दिएपछि केही घन्टा मात्र २ नम्बर वडामा जाने र बाँकी समय ३ मै बस्न थालेका छन्। सेवाग्राही फाइल बोकेर अर्को वडा दौडनुपर्ने बाध्यता रहेको महिला सदस्य मनमाया चौहानले बताइन्। १÷२ घन्टा बस्नुहुन्छ, बाँकी समय ३ नम्बरमै रहने हुँदा सेवाग्राही यता र उता दौडनुपर्ने बाध्यता छ, उनले भनिन्। वडामा एकजना कार्यालय सहयोगी मीना अधिकारी र कम्प्युटर अपरेटर रेसम तामाङ छन्।
जिम्मेवारीको पत्र दिएरै फरार
भारतको आसाम राज्यको मणिपुर कानकोपी जिल्लाका ३५ वर्षीय भूपाल गुरुङलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका वडाध्यक्ष मुखबहादुर भट्टराई वडा सदस्यलाई कार्यवाहकको पत्र थमाएर फरार भएको पाइएको छ। वडाध्यक्ष भट्टराईले वडासदस्य चन्द्रशंकर अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।
वैशाख १९ गतेबाट आफू कामको सिलसिलामा काठमाडौं जानुपरेको भट्टराईको पत्रमा उल्लेख छ। नागरिकता काण्डमा मुछिएको सबैलाई थाहा थियो नै, औपचारिकताका लागि होला मलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। ढोकै बन्द त गर्ने कुरा भएन, कार्यवाहक अध्यक्ष अधिकारीले बताए। आजको अन्नपूर्ण पोष्टमा प्रकाशित