वडा कार्यालय आगजनी गरेको भन्दै विप्लवका तीन कार्यकर्ता हतियारसहित पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 01 | 05:38 pm 2307

रौतहट, साउन १६ : रौतहटको चन्द्रपुर नगपालिका– ३ वडा कार्यालय गैडाटारमा आगजनी गरेको भन्दै प्रतिबन्धित विप्लव समूहका तीन कार्यकर्तालाई प्रहरीले हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

साउन १५ गते विप्लव समूहले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा अवस्थित वडा कार्यालयमा सो समूहले आगजनी गर्दा कार्यालयमा रहेको कागजात, कम्प्युटरलगायतका सामान नष्ट हुँदा २० लाख भन्दा बढीको क्षति भएको थियो ।

आगलागी भएको घटना लगतै अनुसन्धानमा जुटेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले घटनामा संलग्न भएको भन्दै ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर ४ टेकान टोलका रेहान तामाङ्ग भन्ने रामबहादुर घिसिंग, मानबहादुर वाइवा, गैडाटारका रेव प्रसाद मैनालीलाई छन् ।

पक्राउ परेकामध्ये रामबहादुर घिसिङ्गको साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ८ थान गोली बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कबित कटुवालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । पक्राउ परेका रेवप्रसाद मैनालीको साथबाट एक थान गोली, तामाको पाइपको टुक्रा २ थान र दस्तावेजहरु बराममद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु लामो समयदेखि विप्लव समूहमा आवद्ध रहेको र यसअघि पनि गैडाटारमा रहेको एनसेलको टावरमा समेत आगजनीमा उनीहरुको संलग्नता रहेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकाहरुलाई सरकारी सम्पतीमा क्षति पुर्‍याएको, विष्फोटक पदार्थ बोकेर आपराधिक उपद्रो गरेकाले सोही मुद्दा अन्तर्गत कार्वाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक कटवालले बताएका छन् ।

पत्रकार सम्मेलनमा वाइवा र घिसिङको बयान र बिशेष सूचनाका आधारमा बुधबार साँझ चन्द्रनिगाहपुरको टेकानटोलस्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान सेमी अटोमेटिक चाइनिज लेखिएको स्वचालित पेस्तोल, पेस्तोलमा लाग्ने नाइन एम एमको पाँच राउण्ड गोली र एक थान नलकटुवा पेस्तोलसहित तीन राउण्ड गोली र बम बनाउन प्रयोग हुने सकेट तथा तामाको पाइप, मोबाइल चार थान, माोटरसाईकल एक थान, तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चा लेखिएको लेटरप्याड, पार्टीको पर्चा पम्पलेटलगायतका दस्तावेज बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक कटुवालले बताए ।

विप्लव नेतृत्वको नेकपाले बुधबार आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा चन्द्रपुर नगरपालिकाको ३ नम्वर वडा कार्यालयमा आगजनी भएको थियो । वडाध्यक्ष बोधनाथ देवकोटाको घरमा ढुङ्गामुढा प्रहार भएको थियो भने वडा कार्यालय नजिकको चौतारामा बम राखिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.