वजिरको निधन प्रति सिङ्गो गुल्मी चिन्तित

रिपोर्ट नेपाल | 2021 Feb 13 | 11:24 am 8913

गुल्मी, फागुन १ः नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका गुल्मी तमघास निवासी वजिर थापाको माघ ३० गते निधन भएको छ । लामो समयदेखि घाँटीका क्यान्सरबाट पीडित थापाको बुटवलमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

ओठमा जुँगाको रेखी नबस्दै २०३६ सालको विद्यार्थी आन्दोल र जनमत संग्रहमा निडरताका साथ काम गरेका थापाको पछिल्लो समय नेपाली कांग्रेसले वीपी कोइरालाको सिद्धान्तलाई त्यागेको भन्दै पार्टीबाट अलग भएका थिए ।

नेपाली कांग्रेसद्वारा आयोजित २०४२ सालको सत्याग्रहमा जेल जीवन यापन गरेका थापाले कांग्रेस कम्युनिस्टको लहैलहैमा लागेर संवैधानीक राजसंस्था र हिन्दु राष्ट्र त्यागेकोमा बढी आक्रोशित थिए ।

उनलाई क्यान्सर जस्तो डरलाग्दो रोगले आक्रमण गर्दा समेत उनी आफ्नो रोगसँग भन्दा देश गलत दिशातर्फ उन्मुख भएकोमा बढी चिन्तित थिए ।

आफ्नो फेसबुकको वालमा सधै वीपी कोइरालाको मेलमिलाप बखान गर्ने थापाको निधन हुनु केही दिन अघिसम्म पनि देशकै चिन्ता गरेको स्टाटस आएको थियो ।

सामाजिक न्याय र हिन्दु राष्ट्रका लागि बुलन्द आवाज उठाउँदै आएका थापाको निधन प्रति नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले दुःख व्यक्त गरेका छन् ।

त्यस्तै २०३६ का नेविसंघका नेता वसन्त भेजेलले पनि वजिरको निधनले सच्चा देशभक्त गुमाएको बताएका छन् । थापाको एक छोरा एक छोरी र श्रीमती रहेका छन् ।

उनको पार्थिव शरीरलाई पवित्र कालिगण्डकी रिडीमा लगेर शुक्रबार अन्तिम संस्कार गरिएको थियो । हिन्दु धर्मको रक्षार्थ लड्दै आएका थापाको निधन प्रति दुःख व्यक्त गर्दै गुल्मीका सबै दल, सामाजिक संघसंस्था र समाजसेवीहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.