ल्यान्ड हुँदै गरेको जहाजमा बँदेल ठोक्कियो

रिपोर्ट नेपाल | 2019 Dec 05 | 07:14 am 1899

बाँके, मंसिर १९: नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ। काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले जानकारी दिए।

जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ। जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए। उक्त घटना मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्यान्ड हुँदै थियो। त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो।

नेपालगन्ज विमानस्थलको आसपासमा झाडी बढेको छ। धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन्। यसले विमानस्थलमा सुरक्षा चुनौती थपिएको छ। यसअघि धेरै पटक विमानस्थल ल्यान्ड गर्ने क्रममा जंगली जनावर रनवे आसपासमा देखिँदा केहीबेर जहाजलाई आकाशमै उडाई सुरक्षाकर्मीले जंगली जनावरलाई लखेट्ने गरेका थिए।

विमानस्थलको धावन मार्गमा ओभर–ले (पिचमाथि कालोपत्रको तह थप्ने) आसपासको झाडी सफा गर्ने र नाली निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी एपेक्स जेभीले ठेक्का लिए पनि काम नगर्दा विमानस्थलमा जंगली जनावरले सुरक्षा चुनौती बढाएको छ। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.