लोकतन्त्र र संविधान जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको छ : सभापति देउवा

| 2018 Dec 31 | 04:03 pm 2006

काठमाडौं, पुस १६ : सरकारले तानाशाही र एकलौटी गर्न खोजिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् ।   मेलमिलाप दिवसको अवसरमा कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीमाथि नियन्त्रण गर्नु सरकारको अधिनायकवादी सोचको सुरुवात भएको बताए ।

देउवाले वर्तमान सरकार गणतन्त्र सिध्याउनतर्फ लागेको आरोप लगाएका छन् । उनले सरकार प्राप्त उपलव्धि मास्न लागेपछि लोकतन्त्र र संविधान जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको दावी गरे । लोकतन्त्र जोगाउनकै लागि  काँग्रेसको जन्म भएको भन्दै अरु दल र वर्तमान सरकारबाट त्यो सम्भव नहुने ठोकुवा समेत गरे ।

‘काँग्रेसको जन्म प्रजातन्त्र जोगाउनकै लागि भएको हो । तर, पछिल्लो समय सरकारका कारण प्रजातन्त्र सकिने संकेत देखिएको छ’ सम्बोधनका क्रममा देउवाले भने, ‘महामसमितिबाट उर्जाशिल भएका काँग्रेस कार्यकर्ताले यसबारे सोच्ने बेला भएको छ ।’ उनले काँग्रेस कार्यकर्ताहरुलाई सरकारको खिलाफमा उत्रन आव्हान समेत गरे । ‘अहिलेको अवस्था विकास र सम्बृद्धिमा लाग्ने हो । हामीलाई आन्दोलनमा जाने इच्छा पनि थिएन । तर सरकारले लोकतन्त्र खतारामा पारेकाले लोकतन्त्र जोगाउन संघर्षमा जान बाध्य बनायो ।’

सरकारले लोकतन्त्रविरोधी काम गरिरहेको भन्दै देउवाले आफूहरु अहिले पनि मेलमिलापको पक्षमा रहेको बताए । ‘मेलमिलाप नीतिमा कांग्रेस हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ’ उनले भने ‘हामी मेलमिलाप चाहन्छौं । तर सरकार तानाशाही व्यवहार देखाउँदैछ ।’

महासमिति बैठकले पारित गरेको नयाँ विधानअनुसार नेपाली कांग्रेस पूर्ण समावेशी पार्टी बनेको बताउँदै उनले अब महिला, दलितलगायत उत्पीडित क्षेत्रको सदस्यता बढाउनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.