पर्सा, साउन ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको धोवनी गाउँपालिकाका लेखापाल र नायब सुब्बालाई आज शुक्रबार वीरगञ्जबाट घुस सहित रंगेहात पक्राउ गरेको छ ।
गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फर्छ्योट गरेबापत सेवाग्राहीबाट एक लाख १० हजार घुस लिँदै गरेको अवस्थामा अनुसन्धानआयोग मकवानपुरबाट आएको टोलीले रंगेहात पक्राउ गरेको हो ।
लेखापाल यादव बसेको कोठामा अख्तियारको टोलीले छापामारी नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
गाउँपालिकामा रहेको संसारीमाई मन्दिरको पर्खाल निर्माणको हिसाब रकम फर्छ्योट गरेबापत ४० हजार र ढलान सडकको हरहिसाब गरे वापत ७० हजार कमिशन लिएको सूचनाका आधारमा छापा गर्दा सूचनाअनुसारको रकम बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुवैलाई नियन्त्रणमा लिइएको अख्तियार टोलीले जनाएको छ ।
गाउँपालिकामा भएका निर्माणकार्यको हिसाब फर्छ्योट गरेबापत ति दुई कर्मचारीले १० प्रतिशत घुस माग गरेको सेवाग्राहीबाट गुनासो आएपछि घुस दिन तयार पारिएको रकममा हात रातो हुने रसायन मिसाइ रकम पठाएको र पछि परीक्षण गर्दा रकम छुने कर्मचारीको हातसमेत रातो भएको अख्यितार टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ ।