रुकुम पश्चिम, साउन २३ः सरकारी पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका एक लेखापालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन केसी रहेका छन् ।
गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राखेको पाइएपछि लेखापाल केसीसहित चार जनालाई पक्राउ गरिएको रुकुमका डीएसपी ठकबहादुर केसीले जानकारी दिए ।
डीएसपी केसीका अनुसार उनीहरु राति ९ बजेसम्म बाहिरबाट ताला लगाई कार्यालयमै कागजात मिलाउँदै गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत आर्थिक वर्ष २०७६र७७ को बजेटबाट २४ लाख ९२ हजार ३ सय ७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।
विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको सरकारी रकम उनीहरुले फेरि गाउँपालिकाकै खातामा जम्मा गरेका थिए । उक्त रकमको कागजात मिलाउने क्रममा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।
अहिले जिल्ला प्रशासन कार्यालयले छानविन थालेको प्रजिअ पौडेलले बताए । कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ, प्रजिअ पौडेलले भने, कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ । अनुसन्धान भइरहेको छ ।