लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सक बर्खास्त

रिपोर्ट नेपाल | 2020 Apr 08 | 02:57 pm 2172

बुटवल, चैत २६ः संसारभर कोरोनाकाे महामारी फैलिरहेकाे अवस्थामा संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ ।

बर्खास्त हुनेमा अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्की रहेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले भने अनुसार ‘अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर हुनुभएको थिएन, सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यूले तत्काल बर्खास्त गर्न निर्देशन दिनुभयो ।’

सामाजिक विकास मन्त्री बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको स्वीकार गरे ।

बर्खास्त गरिएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए ।

मन्त्री बरालले भने, ‘सबै अस्पतालबाट दैनिक हाजिरी मगाएर हेरिएको छ, अनुपस्थित हुनेलाई एकपटक स्पष्टीकरण सोधिन्छ र चित्तबुझ्दो जवाफ नआए बर्खास्त गरिन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.