लुम्बिनीमा मनोरेल सञ्चालन गर्न छलफल शुरु

| 2018 Aug 11 | 08:31 am 1726

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई बौद्ध सर्किटका माध्यमबाट जोड्न मोनोरेल सञ्चालनका सम्भाव्यता बारेमा चिनियाँ रेलबे कम्पनीको टोलीसँग प्रदेश नं ५ को सरकारले छलफल गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलबे इन्टरनेशनल गु्रपको एक टोलीले शुक्रबार भेट गरी रामग्राम–लुम्बिनी–कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल गरेको हो ।

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकाले काम गर्ने वातावरण तयार भएको बताए ।

बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकाले सम्भाव्यता अध्ययनबारे छलफल गरी अघि बढ्न सकिने उनले बताए। मुख्यमन्त्री पोखरेलले मोनोरेलको सम्भाव्यता अध्ययनका विषयमा लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव वसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरिएको जानकारी दिए ।

मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलबे इन्टरनेशनल गु्रपअन्तर्गतको चाइना ओभरसिज ग्रुपका नेपाल शाखा महाप्रबन्धक वाङ यु श्वे र चाइना रेलबे इन्टरनेशनल ग्रुपका अर्थशास्त्री याङ क्वाङसहितको टोली सहभागी थियो ।

चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रबन्धक वाङ यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारेमा प्रदेश सरकारसँग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका र त्यस अवसरमा चिनियाँ टोलीले मोनोरेलको सम्भावनाबारे प्रस्तुति गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.