लुटपाटमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 26 | 04:23 pm 1953

काठमाडौं, माघ १३ः सुनका गरगहना समेतका धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङ जयपृथ्वी नगरपालिका-१ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनिल बहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।

काठमाडौं स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.