स्याङ्जा, पुस २९ः नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित उपसभापति धनराज गुरुङले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकार समक्ष नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर सीमा विवाद टुंग्याउन आग्रह गरेका छन्।
आफ्नो गृह जिल्ला स्याङ्जा पुगेका नेता गुरुङले सिमा विवादलाई वर्तमान सरकारले नेतृत्व तहबाटै वार्ता गरेर टुङ्ग्याउनु पर्ने कुरामा जोड दिएका छन् । नेपाल मुस्लिम संघ स्याङजाले आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रममा नेता गुरुङले उक्त कुरा बताएका हुन् ।
उपसभापति गुरुङले राष्ट्रियताका सन्दर्भमा, राष्ट्रिय स्वाधीनताका सन्दर्भमा वार्ताका लागि ढिला गर्न नहुने स्पष्ट पारे । उनले भने–‘छिटोभन्दा छिटो भारतलाई कुटनीतिक नोट पठाएर, कुटनीतिक पहल गरेर सिधा वार्ता गरेर हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानीका सन्दर्भमा भारतीय प्रधानमन्त्री वा शासकहरुले कुरा उठाउन नपाउने गरी वार्ता गरेर यो कुरा टुंग्याउन म आग्रह गर्न चाहन्छु।’
नेपाली कांग्रेस र पाँच दलीय गठबन्धनको सरकारले नेपाली भूमिमा भारतीय सडक निर्माणबारे कुनै प्रतिक्रिया नदिएको सन्दर्भमा उपसभापति गुरुङको सार्वजनिक अभिव्यक्ति आएको हो। डेढ साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक हुँदै निर्माण भइरहेको सडक अझै फराकिलो बनाएर मानसरोवरसम्म पुर्याउने घोषणा गरेका थिए।