लामखुट्टे कस्तो व्यक्तिप्रति बढी आकर्षित हुन्छ?

रिपोर्ट नेपाल | 2023 Aug 26 | 09:07 am 359761

विश्व लामखुट्टे दिवसका अवसरमा लामखुट्टेले कसलाई बढी टोक्छ भनेर डा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले तयार पारेको आलेख यहाँ प्रस्तुत गरिएको छ:

लामखुट्टेले कसलाई बढी टोक्दै छ? यो प्रश्नको सिधा सम्बन्ध लामखुट्टेबाट सर्ने संक्रमणसँग देखाउन खोजेको हो। अर्थात् जसलाई लामखुट्टेले टोक्द्छ उसैलाई संक्रमण हुने सम्भावना पनि बढी हुने गर्दछ। हाल देशका विभिन्न ठाउँमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भाइरस सक्रिय हुँदै गइरहेको छ।

लामखुट्टे कस्तो व्यक्तिप्रति बढी आकर्षित हुन्छ भन्ने रोचक तर जानकारीमुलक अनुसन्धान लेखहरु प्रकाशित भएका छन। ‘द अमेरिकिन मसक्युटो कन्ट्रोल एशोसियासन’का अनुसार लामखुट्टे कार्बोंनडाईअक्साइड प्रति आकर्षित हुने गर्दछ। श्वास फेर्दा शरीरबाट कार्बोंनडाईअक्साइड फ्याँकिने गरिन्छ र शारीरिक क्रियाकलाप गर्दा यो अझ बढी निस्कन्छ। शरीरबाट निक्लने विशेष गन्धमा पनि लामखुट्टेहरु आकर्षित हुने अनुसन्धानहरुले देखिएका छन्। त्यस्ता गन्ध वंशाणुगत समेत हुने गर्दछ। यदी परिवारका सदस्य लामखुट्टेको टोकाईले अजित हुने गर्दछन् भने तपाईं पनि लामखुट्टे टोकाईको जोखिममा पर्न सक्नुहुन्छ।

लामखुट्टे अँध्यारो/गाढा रंग प्रति आकर्षित हुने गर्दछ। तसर्थ यदी कसैले अध्यारो/गाढा रंगको कपडा लगाउनु भएको छ भने लामखुट्टेले टोक्ने सम्भावना बढी हुने गर्दछ। शरीरको तापक्रम बढी हुँदा पनि लामखुट्टे आकर्षित हुने गर्दछ। जापानमा गरिएको एक अनुसन्धानमा बियर प्रेमी (वा मापसे गर्ने) लाई लामखुट्टेले बढी टोक्ने गरेको नतिजा देखाएको थियो। यसर्थ मापसे गर्ने बानी छ भने विशेषत लामखुट्टे सक्रिय हुने सिजनमा टोकाईको उच्च जोखिममा पर्नु हुनेछ।

रगतको समुह ‘ओ’ भएकाहरुलाई अरु समुह भन्दा बढी टोक्ने गरेको विभिन्न अनुसन्धानहरुले देखिएका छन्। महिला गर्भवती हुँदा पनि लामखुट्टे आकर्षित हुने गरेको अध्यनहरुले देखाएका छन्।

यी माथि उल्लेखित बानी वा अवस्थाहरुमा लामखुट्टेले टोक्ने सम्भावना बढी हुने अध्ययन/अनुसन्धानहरुले देखाएको भएता पनि सबैको सटिक र व्यवहारिक समाधान भने छैन/देखिदैन। तसर्थ, लामखुट्टे सक्रिय भएको वा लामखुट्टेजन्य संक्रमण फैलिएको ठाँउहरुको पहिचान गरी लार्भा “खोज र नष्ट” गर अभियानलाई संचालन गर्न नै उपयुक्त र बुद्धिमानी हुनेछ। त्यो भन्दा राम्रो, लामखुट्टेको बृदि विकास हुने वातावरण नै शृजना हुन नदिनु हुनेछ। – स्वास्थ्यखबर पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.