काठमाडौं, चैत २२ः मध्ये बानेश्वरमा रहेको भेनस अस्पतालको चरम लापरबाहीका कारण एक युवतीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा धर्ना दिएका छन् ।
प्राप्त समाचार अनुसार रामेछाप घर भई कोटेश्वरमा पसल गर्दै आएकी २७ वर्षीया सरिता कार्कीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।
कोटेश्वरबाट शनिबार साँझ पसल बन्द गरी माइतीले डेरा गरी बसेको बानेश्वरमा आएकी कार्कीको राति एक्कासी पेट दुखेपछि माइती पक्षले भेनस अस्पताल ल्याएका थिए ।
अस्पताल ल्याएपछि सम्बन्धीत चिकित्सकले नहेरी जुनियरले उपचार गरेको कारण लापरबाहीबाट आफ्नो बुहारीको मृत्यु भएको धर्नामा बसेकी अम्बिका पन्तले बताइन् ।
बिहानसम्म आफन्तसँग कुरा गरेकी मृतकलाई बिहान ५ बजे भेन्टीलेटरमा राखिएको बताइन्छ । अस्पताल प्रशासनले मृत्यु भएपछि आफन्तलाई खबर नगरी प्रहरी प्रशासन बोलाएको आफन्तको आरोप रहेको छ ।
अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै शव बुझ्न आफन्तले मानेका छैनन् । लापरबाही गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग राखी आफन्तले धर्ना दिएका हुन् ।
अपरान्ह १ बजे सम्म अस्पताल प्रशासनले मृत्यु भएको सार्वजनिक नगरेको आफन्तको आरोप छ । उक्त अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ ।