कञ्चनपुर, फागुन १७ः जिल्लाको पुनर्वास नगरपालिका ४ आँपतालस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावरी नगरपालिका ५ बस्ने १९ वर्षीय धिरज राना र सोही जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने १९ वर्षीय दिपक राना रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्रोभेट ट्याब्लेट ३० वटा र स्पास ट्याब्लेट २४ वटा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको लत्ताकपडा बरामद
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीव १ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बारा र बिओपी गोलागंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।