लागु औषध दुर्व्यसन बिरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2018 Sep 20 | 05:52 pm 3479

पाल्पा, असोज ४ : नेपाली समाजको प्रमुख विकृती, विसंगती, दुर्व्यसन र अपराधको रुपमा रहेको लागु औषधलाई समाजबाट नियन्त्रण तथा न्यूनीकरण गर्ने अभियानलाई मुर्तरुप दिन विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरेको हो ।

आज बिहिबार रामपुर नगरपालिका वार्ड नं २ भलायटार स्थित कृष्णादेवी माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्यनरत करिब १२० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई लागु औषध भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन् ?

यसको लतमा फसेकाहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुराहरुको जानकारी गराएको थियो । त्यसका साथै लागु औषधको सेवन, बिक्रि बितरण तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित कानून अनुसार के कस्तो सजाय हुन्छ भन्ने पनि प्रशिक्षणमा जानकारी दिएका थिए ।

लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, विद्यालय र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका विषयहरुमा केन्द्रीत रही प्रशिक्षण दिइएको थियो ।

ईलाका प्रहरी कार्यालय रामपुरद्वारा आयोजित उक्त कार्यक्रममा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेयले प्रशिक्षण दिएका थिए। कार्यक्रममा विद्यार्थीहरुको साथै विद्यालयका शिक्षक, अभिभावकहरु समेत सहभागि भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.