लागुऔषधसहित सासू–बुहारी पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 30 | 11:13 am 2605

सुर्खेत, पुस १५ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित वीरेन्द्रनगरबाट सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंह रहेकी छन् ।

मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।” लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको २१ हजार ५सय नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.