लाखौं मूल्यका कम्प्युटर छ, शिक्षक छैन

रिपोर्ट नेपाल | 2018 Nov 18 | 02:52 pm 2114

महोत्तरी, कात्तिक २ :  जिल्लाको भंगाहा नगरपालिका वडा नम्बर ५ मा रहेको सिद्धपुर माध्यमिक विद्यालयमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् ।

सो विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट दिएका २२ थान कम्प्युटर शिक्षक नहुँदा थन्किएका छन् । विद्यार्थीहरु कम्प्युटर देखेर सिक्न उत्सुक भए पनि पढाउने शिक्षक नहुँदा निराश बनेका प्रधानाध्यापक श्रीराम यादवले बताए ।

उच्च तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराख्दा लाखौं मूल्यका कम्प्युटर ‘कवाड’ बन्ने स्थितिमा रहेका प्रधानाध्यापक यादवले जानकारी दिए । विद्यालयमा शिशुदेखि १२ कक्षासम्म एक हजार १ सय ४२ छात्रछात्रा छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सङ्ख्या १ सय ६० रहेको छ ।

सोही विद्यालयमा कार्यरत अर्का शिक्षक कमल श्रेष्ठका अनुसार ८ कक्षा माथिका छात्रछात्राले दिन प्रति दिन कम्प्युटर शिक्षाबारे चासो राख्ने गरेका बताए । त्यसै नगरका नगर प्रमुख सञ्जिवकुमार साहले नगरभित्रका विद्यालयका भौतिक अवस्था रुग्ण रहेका र तिनको मर्मत सम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न नसकिएको बताए ।

विद्यालयको स्वामित्वमा विभिन्न ठाउँमा गरी २० बिघा भन्दा बढी जग्गा रहेको र जग्गाको भाडासहित अन्य आम्दानी स्रोत राम्रै रहेकाले विद्यालय आफैंले समेत कम्प्युटर शिक्षकको व्यवस्था गर्नसक्ने क्षमता भएको अभिभावकहरु बताउँछन् । तर, विद्यालय प्रशासनले आम्दानी तथा खर्च कहिल्यै पारदर्शी नगरेको अभिभावकहरुले आरोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.