लहानबाट अपहरणमा परेको तेल ट्यांकर फेला

रिपोर्ट नेपाल | 2019 Nov 20 | 11:08 am 1928

धनुष, मंसिर ४: सिरहाको लहानबाट अपहरण गरेको भनिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर फेला परेको छ ।

उक्त अपहरण गरिएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ स्थित रमदैयामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा गएराति नै ट्यांकर भेटिएको जानकारी दिए।

तेल बोकर आएको ट्यांकर प्रहरीले फेला पार्दा तेल खन्याइएको अवस्थामा भेटिएको छ । तेल कहाँ खन्याइयो भन्ने पत्ता लागेको छैन ।

बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना ४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरण गरेको बताइएको थियो । अपहरण के कारणले भएको हो त्यो खुलेको छैन ।

टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डीआईजी कार्कीले जानकारी दिए ।

नेपाल आयल निगमले पनि घटनाबारे छानबिन गर्न इञ्जिनियर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.