लघुवित्तको आधा लगानी कृषि क्षेत्रमा

रिपोर्ट नेपाल | 2021 Sep 23 | 08:29 am 1205

काठमाडाैं, असाेज ७ः लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल ऋण लगानीको आधा कृषि क्षेत्रमा गरेका छन् । नेपाल राष्ट्र बैंकले कृषिमा एक तिहाइ लगानी अनिवार्य गरेपछि लघुवित्तहरूको लगानी वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूले गत आवसम्ममा तीन खर्ब ६५ अर्ब रुपैयाँ कृषि क्षेत्रमा ऋण दिएकोमा त्यसको ४४.८२ प्रतिशत अर्थात् एक खर्ब ६३ अर्ब कृषि क्षेत्रमा दिएका छन् । एक वर्ष अघिसम्म लघुवित्त संस्थाहरूको सबैभन्दा बढी ऋण लगानी व्यापार व्यवसायमा रहेको थियो । त्यसपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तहरूलाई आफ्नो कुल लगानीको एक तिहाई रकम कृषिमा लगानी गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनपछि लघुवित्तहरूको लगानी वृद्धि भएको हो ।

कृषिपछि लघुवित्तहरूको ३१.३४ प्रतिशत लगानी सेवा व्यवसायमा रहेको छ । घरेलु तथा लघु उद्योगमा भने ३.३३ प्रतिशतमात्र रहेको छ । बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरिब सर्वसाधारणलाई बैंकिङ सेवा दिनका लागि नेपालमा लघुवित्त कार्यक्रम अघि सारिएको हो ।

मर्जरका कारण लघुवित्त संस्थाहरूको संख्या घट्दो क्रममा रहे पनि शाखाहरूको विस्तारको क्रम भने जारी नै रहेको छ । २०७७ असारसम्ममा ८४ वटा लघुवित्त सञ्चालनमा रहेकोमा २०७८ असारसम्ममा घटेर ७० वटामा झरेको छ । यसमध्ये चारवटा थोक कर्जा प्रदायक र बाँकी ६६ वटा खुद्रा कर्जा प्रवाह गर्ने संस्थाहरू रहेको राष्ट्र बैंकले जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूको संख्या घटे पनि शाखा भने वृद्धि भएको छ । २०७७ असारको तुलनामा शाखा १७.११ प्रतिशतले वृद्धि भई २०७८ असारसम्ममा ४ हजार ६२१ पुगेको देखिन्छ । यसैगरी लघुवित्तका सदस्यहरूको संख्या १०.७६ प्रतिशतले बढेर ५१ लाख ९१ हजार र ऋणी ७.५१ प्रतिशतले बढेर २९ लाख ९२ हजार पुगेको छ ।

यसैगरी लघुवित्त संस्थाहरूको निक्षेप संकलन २०७७ असारमा एक खर्ब ६ अर्ब १५ करोड रहेकोमा २०७८ असारसम्ममा एक खर्ब ३० अर्ब ४३ करोड पुगेको छ । कर्जा प्रवाह २०७७ असार मसान्तमा दुई खर्ब ६२ अर्ब ७३ करोड रहेकोमा २०७८ असार मसान्तसम्ममा तीन खर्ब ६५ अर्ब ५५ करोड पुगेको छ । आर्थिक वर्ष २०७७-७८ मा कर्जाको औसत त्रैमासिक वृद्विदर ८.६९ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा नौवटा लघुवित्त वित्तीय संस्थाहरू खुद नोक्सानीमा रहेकोमा २०७८ असार मसान्तमा उक्त संख्या घटेर तीन वटामा सीमित हुन पुगेको राष्ट्र बैंकले जनाएको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.