काठमाडौं, चैत्र १४ : लगानी बोर्डले शुक्रबारबाट हुने लगानी सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ । सम्मेलनको तयारीबारे प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिलाई हिजो ‘ब्रिफिङ’ गर्दै बोर्डले सबै तयारी पूरा भएको जनाएको हो ।
चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा सहभागी जनाउने लगानीकर्तासँग पूर्व निर्धारित विकास साझेदारीका योजनामा हस्ताक्षर गर्नेभएको छ । लगानी सम्मेलनको पूर्व सन्ध्यामा अर्थ मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले पूर्व तयारी भएका योजनाहरुको एमओयु समेत हुने बताए ।
उनले स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्श हुने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक भव्य समारोहका बीच उद्घाटन गर्ने सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय भन्दा बढि विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछन् ।
सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीस्को अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीर्कताहरुको लगानी सम्बन्धी अनुभव सहति सातवटा विषयगत सत्रहरु संचालना हुनेछन् । यस्तै, सम्मेलनको दोस्रो दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन गरिने मन्त्रीको भनाइ छ ।
यता, निजी क्षेत्रले समेत सम्मलेनमा सहभागी जनाउनुका साथै सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । सरकारले मुलुकले समृद्धिको अभियान सुरु गरेकाले त्यसमा साथ दिने निजी क्षेत्रको भनाइ छ ।
को–को आउँदैछन् ?
लगानी सम्मेलनका लागी विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन उपाध्यक्ष डोङ ली नेपाल आउने भएका छन् ।
त्यस्तै एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकको लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष केइको होण्डा नेपाल आउँदैन् । पावर चाइना, अमेजन, माईक्रोसफ्ट, चाइना रेलवे, डाबर र युनिलिभर लगायतका विश्वप्रसिद्ध कम्पनीहरुका उच्चपदस्थ प्रतिनिधिहरु पनि सम्मेलमा सहभागी हुने अर्थ मन्त्रालयले जनाएको छ ।