काठमाडौं, मंसिर ११ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सँग नेपाल चीन डेभलपमेन्ट फोरमका अध्यक्ष डेवीड लिङले भेट गरी नेपालमा लगानीको सुरक्षा भएमा आफूहरु काम गर्न तयार भएको बताएका छन् ।
प्रचण्ड निवास खुमलटारमा लिङका साथमा पूर्वमन्त्री मणी लामा, सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, गोर्खा ग्रीन इनर्जी कम्पनीका अध्यक्ष वसन्तबहादुर भुजेल, प्रेम चन्दलगायत पन्ध्र जनाको समूहले भेटघाट गरेको थियो ।

भेटघाटमा संलग्न वसन्त भुजेलका अनुसार नेपाल चीन डेभलपमेन्ट फोरमका अध्यक्ष डेवीड लिङले गोर्खा ग्रीन इनर्जीसँग भएका विभिन्न सम्झौता बारे जानकारी दिँदै एक खर्ब डलर पूर्वाधारको लागि स्वीकृत भएको र विभिन्न क्षेत्रमा पचास खर्ब खर्च गर्न तयार रहेको जनाएका थिए।
अध्यक्ष दाहालसँग लिङले नेपालमा काम गर्नका लागि प्रशासनीक संयन्त्र घाँडो भएको र अत्यन्तै ढिलाई हुने गुनासो पोखेका थिए । काम गर्ने अनुमतिपत्र ल्याउन महिनौ लगाई दिने गरेको पनि लिङले अध्यक्ष प्रचण्डसँग दुखेसो पोखे ।

आफू नेपालका विभिन्न कम्पनीसँग मिलेर इलेक्ट्रीक कार, मोटरसाइकल, स्कुटर, स्टील उद्योग, बैकल्पिक ऊर्जा, हाइड्रोपावर, रेल आइटी सम्बन्धी कारखाना बनाउन र काम गर्न खोजेको लिङले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । लिङले आफूले यस विषयमा अझ विस्तार गरी सम्झौता गर्नका लागि नेपालका विभागीय मन्त्री र सचिव स्तरीय भ्रमण गराउने पनि बताएका थिए ।
यसका लागि पहल गरिदिन र लगानीलाई सुरक्षित बनाइदिन पनि लिङले प्रचण्डसँग आग्रह गरेका थिए । भेटघाट कार्यक्रममा सहभागी सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले नेपालको बैंकिङ क्षेत्रको सेवा झन्झटिलो भएको गुनासो पोखेका थिए ।
फोरमका अध्यक्ष लिङको भनाई प्रति खुशी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी र स्वयम् आफू यस्ता रचनात्मक कार्यको प्रशंसक भएको बताउँदै सहयोग र समर्थन गर्ने बताएका थिए ।