लकडाउनले महाकाली कोरिडोरको काम प्रभावित

| 2020 Apr 24 | 07:39 am 1665

बैतडी, बैशाख १२ः बन्दाबन्दीले गर्दा सुदूरपश्चिममा गौरवका आयोजनाका कामहरु ठप्प रहेका छन् । गौरवको आयोजनाका रुपमा लिइएको महाकाली कोरिडोरको काम लकडाउनले गर्दा प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुला सदरमुकाम हुँदै टिंकरसम्म जोड्ने उक्त योजनाको काम प्रभावित भएको हो ।

कुल ६ खण्डमा सम्पन्न गरिने भनिएको सो काम सबै ठप्प रहेको योजना प्रमुख अच्युत पन्तले बताए । २०८० मा सक्ने गरी जारी कामसमेत लक्ष्यअनुसार सकिनेमा आशंका रहेको छ ।

विकास निर्माणको काम द्रुत गतिमा हुने महिनामा लकडाउन हुँदा योजनाको सबै काम ठप्प छ । गत बिगतका वर्षहरुमा यो समयमा निकै बढी काम भइरहेको हुन्थ्यो उनले भने ‘यो वर्ष लकडाउनले गर्दा सबै रोकिएको छ।’

दार्चुलामा कार्यालय रहेको यस योजनाका दार्चुलादेखि कञ्चनपुरसम्म विभिन्न ६ प्याकेजमा काम गरिरहेको हो । ६ जना निर्माण व्यवसायीलाई ठेक्का दिएर काम भइरहेको थियो ।

तर लकडाउनले गर्दा सबै काम स्थगित भयो उनले भने– ‘काम ठप्प हुँदा सबै निर्माण व्यवसायी र मजदुर आ आफ्नो घरतिर लागेका छन् । कामको प्रगति एकदमै कम छ ।’

काम सुचारु गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमती मागेको भए पनि काम सुरु हुन अझै केही दिन लाग्ने प्रमुख पन्तले बताए ।अनुमती मागिएको छ,अब सबै निर्माण व्यवसायीलाई पत्राचार गरेर कार्यालयमा बोलाउँछौं, त्यसपछि काम अगाडि बढाउछौं, उनले भने ।

मजदुर पनि आ–आफ्नो घरतिर भएकाले निर्माण व्यवसायीले उनीहरुलाई बोलाएर काम थाल्नेछन् । कञ्चपुरदेखि दार्चुला तिंकरसम्म ४ सय २५ किलोमिटर निर्माण गरिने उक्त सडकको १ सय २५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसंगको सम्झौता यसै वर्ष सकिन लागेको समेत उनले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.