- विवेक अर्याल
धादिङ सिद्धलेकका ४२ बर्षिय पुष्प ब्यवसायी शुधीर खतीवडाले लकडाउनले यत्तीको असर गर्छ भन्ने सोचेकै थिएनन् । तर, विश्वभर महामारीको रुप लिएर कोरोना भाईरसले सन्नाटा छाए पश्चात् नेपाल सरकारले पनि सतर्कता अपनाउदै नेपाललाई लकडाउन घोषणा गरेपछि जब उनको पुष्प ब्यवसायमा फक्रिएको फुल बिक्रि गर्न पाएनन्, तव उनलाई महसुस भयो लकडाउनको असर ।

पुष्प ब्यवसायी खतीवडालाई लकडाउनले यति असर गर्योकी फक्रिएको फुल बिक्रि गर्न नपाँउदै फुलबारीमै ओईलाउन थाल्यो, तव उनले लकडाउनको असर वारे सोचमग्न भए । अहिले धादिङ सिद्धलेक गाँउपालिका वडा नं.७ पिपलटार स्थित् अमिलीटारमा शुधीरको १० रोपनी जग्गामा ढकमक्क फुल फुलेको छ भने लकडाउनकै कारण उत्पादित् फुलले बजार पाएको छैन । बारी भरी ढकमक्क फुलेका फुल त्यसै ओईलाएर खेर गएको छ ।
कोरोना भाईरस अर्थात् कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण धादिङका पुष्प ब्यवसायी शुधीर खतीवडा पछिल्लो समय समस्यामा परेका छन् । उनी भन्छन, “अन्य क्षेत्रका ब्यवसायीहरुले घाटा बेहोर्नु परे जस्तै मेरो फुल खेतीमा पनी त्यस्तै घाटा बेहोर्नु परेको छ । फुलले आम्दानी दिन सुरु गर्ने समयमा लकडाउन सुरु भएपछि बारी भरीका फुल त्यसै फुलेर, ओईलाएर खेर गएको छ ।”
खतीवडाका अनुसार लकडाउनका कारण सरकारले विभिन्न सभा समारोह लगाएतका अन्य सार्वाजनीक कार्यक्रमहरु समेत गर्न रोक लगाएपछि फुल विक्रि नभएको हो ।
स्वदेशमै राम्रो बजार पाउने र शुभ कार्यमा समेत प्रयोगमा आउने तरबार लिली प्रजातीको फुल अहिले त्यसै खेर गएको उनको भनाई छ ।
फूल फूलाएर बेच्ने सपना देखेका खतीवडा पछिल्ला दिन परेका वर्षात्का कारण फूलको बीउ गाना नै कुहिने हो कि भन्ने चिन्तामा समेत परेका छन् ।

“गत सातासम्म विभिन्न रंगका फूलहरुले बोटै ढकमक्क थियो, अहिले ओइलाउँदै गएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको बारीको फूल लकडाउनले बिक्नै सकेन । उल्टै २ दिनको झरीले चुटेपछि ओइलाएर खेर गयो ।” खतीवडाले दुखेसो पोखे ।
पृथ्वीराजमार्गबाट त्रिशूलीपरी सिद्धलेक ७ अमिलीटारमा प्रस्ट देख्न सकिने यो फूलबारी अहिले ओइलाउँदै गएको छ । १० रोपनीमा फैलिएको बारीको फूल लकडाउनले बिक्न नसकेको र उल्टै २ दिनको बर्षे झरीले चुटेपछि ओइलाएर खेर गएको खतिवडाको दुखेसो छ । करिव १० वर्ष राजधानीको ठमेलमा पर्यटन व्यवसाय गर्दै आएका खतीवडाले ०७२ सालको विनाशकारी भूकम्प पश्चात् व्यापार छाडेर ६ महिना युरोप बसे । तर, आफ्नै देशमा केही गर्ने सपनाले उनलाई त्यहाँ बसिरहन मन लागेन र पैतृक भूमिमा फूल फुलाउने सपना बोकेर स्वदेश फर्केर फूलखेती सुरु गरेको उनको भनाई छ ।
खतीवडाले २ वर्ष अघिदेखी आप्mनै १० रोपनी जमिनमा फूलखेती सुरु गरेका छन् । ‘फूलखेती पर्यटन क्षेत्रकै अर्को रूप हो । ट्राभल एजेन्सी र ट्रेकिङ एजेन्सीले आफ्ना विदेशी पाहुनाहरुलाई स्वागत गर्न र बिदाई गर्न फूल तथा बुकी अनिर्वाय जस्तै छ,’ उनले भने, ‘नेपालको फूलले मात्र नपुगेर भारतबाट समेत आयात गर्नुपरेको छ । त्यसैले फूल खेती गरेको हुँ ।’
काठमाडौं नजिक र राजमार्गको छेउमै आफ्नो जग्गा भएर पनि फूलखेती गर्न सहज भएको उनले बताए । तर, सिँचाइका लागि वर्षाको पानीको भर पर्नुपर्ने उनको भनाइ छ । यस वर्ष पानी परिरहेकाले सिँचाइ गर्न सजिलो भएको उनले भने ।

‘फूलको पात तरवाजस्तो हुने भएर तरवार लिली भनिन्छ । यो बहुवर्षे जातको फूल हो । यसको गानोबाट नयाँ बिरुवा निस्कन्छ,’ उनले भने । विवाह तथा व्रतबन्ध मण्डप गाडी सजावट सभा समारोह स्थल सजाउन र स्वागत गर्न प्रयोग हुने फूल प्रतिगोटा १० देखि १४ रुपैयाँसम्म होलसेलमा बिक्ने खतिवडाले बताए ।
फूलखेती आप्mनो सानैदेखिको सोख भएकाले लगानी नउठे पनि विस्मात् भने नभएको बताए । हालसम्म १० लाखभन्दा बढी लगानी गरिसकेका उनले अझै लगानी थप्नुपर्ने सुनाए । अहिले सात रंगका फूलहरु फुलिरहेका छन् । ‘यो सिजनको फूल लकडाउनले बोटमै ओईलाए’ तर लकडाउनका कारण फूल खेतीमा करिव १५ लाखको क्षती भएको छ । तर, सरकारसंग भने आफ्नाे कुनै गुनासो नभएको सुधीरले बताए ।