-
शंकर रिखाम मगर
उदयपुर, असार ८ः उदयपुरको रौतामाई गाउँपालिका वडा नम्वर ७ स्थित प्रदेश सरकार पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, उदयपुरको सहयोग तथा लालिगुँरास व्यावसायिक बङ्गुर पालक कृषक समुहको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रम कृषक समुहका अध्यक्ष सुर्यवहादुर मश्राङ्गी मगरको सभापतित्वमा सन्चालन गरिएको थियो भने प्रमुख अतिथी रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगर, विशेष अतिथि पशु अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुरका डाक्टर अजयकुमार शाह रहेका थिए ।

त्यसैगरी अतिथिहरुमा रौतामाई ७ का वडा सदस्य टेकवहादुर राना, पशु अधिकृत तेजवहादुर कार्की, रौतामाई गाउँपालिका पशु शाखा प्रमुख चुडामुणी थापा, पशु स्वास्थ्य प्राविधिक लक्षमण कार्किको उपस्थिती रहेको थियो । साथै नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरका कार्य समिति सदस्य शंकर रिखाम मगरको पनि उपस्थिती रहेको थियो ।

समुहमा आवद्ध रहेका सदस्यहरुले कसैले एउटा मात्र बङ्गुर पालेका छन् भने कुनै सदस्यले ४५ देखि ५० वटा सम्म व्यवसायिक रुपमा पालन गरेका छन् । खोर बनाउन नसक्ने सदस्यले अनुदान पाएपछी खोरको राम्रो व्यवस्थापन र निर्माण भएको कृषक समुहकी सदस्य कुमारी आलेले स्वागत मन्तव्यको क्रममा बताइन् ।

कृषक समुहका सचिव घमान केप्छाकी मगरले कार्य पत्र प्रस्तुत गर्ने क्रममा समुह भित्र आवद्ध रहेका १० सदस्यको खोर निर्माण सम्पन्न भएको र, जसमा १ कोठे खोर २ वटा, २ कोठे खोर ३ वटा र ३ कोठे खोर ५ वटा निर्माण चरणको काम सम्पन्न भइसकेको कार्य पत्रमा प्रस्तुत गरेका थिए । प्रस्तुत गर्ने क्रममा उक्त १० वटा खोर सम्पन्न गर्नको लागि पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले आर्थिक वर्ष २०७८ र ०८९ लाई विनियोजन गरि अनुदान तर्फ कर सहितको रकम २० लाख रुपैयाँ र श्रमदान तर्फ ६ लाख ७० हजार ८ रुपैयाँ गरि कुल लागत २६ लाख ७० हजार ८ रुपैयाँ रहेको कार्य पत्र समुहका सचिव मगरले प्रस्तुत गरेका थिए ।

अहिलेको अवस्थालाई हेरेर समुदायलाई रुपान्तरण गर्दै विकासको चरणलाई अगाडि बढाउने उद्देश्य रहेको विशेष अतिथी डा अजयकुमार शाहले बताए । १ कोठे खोर निर्माणको लागि ८ बाई १० को हुनुपर्ने र उक्त खोरमा उन्नत जातको बङ्गुर पालन गर्दा ४ महिनामा १ सय २० किलो सम्म उत्पादन गर्न सकिने विशेष अतिथी डा शाहले बताए । मासुकै लागि मात्र व्यवसाय गर्ने हो भने एक कोठे खोरमा स्थानीय स्तरको बङ्गुर २ देखि ८ वटा सम्म लगाउन सकिन्छ । व्यवासायी गर्नेहरुलाई सम्पूर्ण कागजी प्रकृया पुर्याएर आएका पूर्ण रुपमा सहयोग गर्ने बताए । लगानी गरेपछी खेर जाने गरि होइन आम्दानी श्रोत बढाएको देख्न पाउनुनै लगानी खेर नजानु बताए ।

प्रविधिको युग छ, समयलाई पर्खन र थाम्न सकिँदैन । परम्परागत ढङ्गले होइन, आम्दानी लिनको लागि आधुनिक ढङ्गले व्यवसायिक रुपमा कसरी जाने ? नेपाल कृषि प्रधान देश भएको कारणले नेपाल सरकारको नीति र कार्यक्रम अनुसार प्राविधिक ढङ्गले अगाडि बढ्न सके फाइदा लिन सकिने प्रमुख अतिथी तथा रौतामाइ गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले जानकारी दिए । कृषकहरुले स्थान र पेशा छनौट गरि समूह दर्ता गरिनु पर्ने सरकारको नीति रहेको छ । काम गर्नुको लागि स्वच्छ र इमान्दारि भएर काम गरौं, भ्रष्टाचारी नगरौं, उदयपुर जिल्लाको भ्रष्टाचारीमा रौतामाई गाउँपालिका पाँचौ स्थानमा रहेको उल्लेख गरिएको पनि बताए ।