सिन्धुली, ६ असोज : सिन्धुलीको दूधौली नगरपालिकामा युवालाई रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शैक्षिक सामग्री वितरण केन्द्रका नाममा तालीमको आयोजना गर्ने केन्द्रका दिगम्बर शाहलाई प्रहरीले पक्राउ गरेको हो । शाहलाई हिजो पक्राउ गरिएको र आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धान गरेपछि घटनाको यथार्थ जानकारी आउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीय बासिन्दाको कडा दबाबपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । ठगी गरेको आरोप लागेका व्यक्तिलाई स्थानीयवासीले बारम्बार पक्राउ गर्न आग्रह गरे पनि प्रहरीले भगाउन खोजेको थाहा पाएपछि आन्दोलन गर्नुपरेको स्थानीयवासी रवीन्द्र देवकोटाले बताए ।
स्थानीयवासीको विरोध र सडकमा काठका मुढा, ढुङ्गा राखेर सडक नै अवरोध पारेपछि प्रहरीले शाहलाई पक्राउ गरेको छ । सिन्धुलीको दूधौली नगरपालिका–२ हत्पते भलुवाहीमा रोजगारीका लागि नेतृत्व विकास तालीम दिने भन्दै सिन्धुलीसहित अन्य जिल्लाका युवायुवतीलाई फसाएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।
शैक्षिक सामग्री वितरण केन्द्रले कर्मचारी आह्वान गरेर हत्पतेको रतनपुर जङ्गलमा तालीमको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेल्धुरा, बझाङलगायत जिल्लाका २५ जना युवायुवतीलाई बेचबिखन गर्न लागिएको समेत स्थानीयवासीले आरोप लगाएका छन् ।