गुल्मी, भदौ २१: सदरमुकाम तमघासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको विषयमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रशासकीय अधिकृत भक्तीराम मरासिनीको कार्यकक्षमा लगाइएको तालाबन्दी र त्यसपछि भएको सामान्य झडपमा केही पत्रकारले नियोजित र कापोकल्पीत समाचार सम्प्रेषण गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरिएको छ ।
नगरप्रमुख भुसाल र प्रशासकीय अधिकृत मरासिनीले स्थानीय ऐनको ठाडो उलंघन गरेको र त्यसपछिका घटनामा गलत समाचार सम्प्रेषण गरेको भन्दै वडा नम्बर १ का अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, २ का अध्यक्ष उदयबहादुर थापा, ३ का थमनबहादुर केसी, ५ का हरिप्रसाद शर्मा खनाल, ८ का भरत भलामी, १२ का कुलबहादुर टण्डन, १३ का खुमबहादुर खत्री र १४ का शेरबहादुर पहराईले विज्ञप्ति प्रकाशित गरेका छन् ।
त्यस्तै कार्यपालिकाका सदस्य उमकला पाण्डे(लक्ष्मी), शान्ता विक, देवी कुँवर, सावित्रा भण्डारी, खिमा बस्नेत, शेरबहादुर चुँदार, सागर सुनार र बाबुराम नेपालीले पनि नगर प्रमुख भुसालको गलत कृयाकलापको विरोध गर्दै विज्ञप्ति प्रकाशित गरेका छन् ।
यसैगरी नेपाल तरुण दल रेसुङ्गा नगर समितिका सभापति कृष्णप्रसाद पाण्डेले पनि एक विज्ञप्ति प्रकाशित गरी महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्तिको विषयमा नगर प्रमुख तथा प्रशासकीय अधिकृतद्वारा विद्यालय जस्तो पवित्र स्थलमा राजनीतिक पूर्वाग्रही लिई गरिएको गलत कार्यको विरोध जनाएका छन।
(विज्ञप्ति)

