रेसुङ्गामा सुरु भयो एक महिने साउने मेला

रिपोर्ट नेपाल | 2018 Jul 17 | 04:02 pm 4666

  • रमेश वि.क.

गुल्मी, साउन १ :  धार्मिक क्षेत्र रेसुङ्गामा साउन महिनाभरि लाग्ने एक महिने मेला मंगलबारबाट सुरु भएको छ।

रेसुङ्गामा रहेको पोखरीमा साउन महिनामा स्नान गरे पाप नष्ट हुने विश्वास रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुषालले बताए। सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङ्गाको धार्मिक, पौराणिक, ऐतिहासिक महत्त्व छ। ।

समुन्द्र सतहबाट ८०० मिटरदेखि दुई हजार ३५० मिटर उचाइमा रहेको यस क्षेत्र प्राकृतिक सौन्दर्यले समेत सिँगारिएको छ। यस क्षेत्रको नाम रेसुङ्गा रहनुमा विभिन्न किम्बदन्ती छन्। त्रेता युगमा महर्षि ऋष्य श्रृङले यस क्षेत्रमा आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङ्गा नामाकरण भएको हो भन्ने भनाइ छ। यस्तै, यो मगरात क्षेत्र भएकाले मगर भाषामा रेस भनेको नुहाउनु हुने र त्यही ‘रेस’ अप्रभंश हुँदै रेसुङ्गा भएको मान्यता पनि छ।

श्रीकृष्णले रेसुङामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपसीहरूको वर्षे आश्रम रेसुङ्गा थियो भन्ने जनश्रुती पनि छ।

यहाँ रहेको पोखरी महाप्रभु लक्ष्मीनारायणले निर्माण गरेका हुन्र यस पोखरी हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र मानिन्छ। यहाँ हरिशयनी, हरिबोधनी एकादशी र साउन महिनाभरि स्नान गर्नेहरूको घुइँचो लाग्ने गर्दछ।

रेसुङ्गा डाँडाको टुप्पोमा ४० फिट अग्लो भ्युटावर निर्माण गरिएको छ। यहाँबाट गुल्मीका अधिकांश भू–भागका साथै बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा र प्युठानसम्मको स्थान देख्न सकिन्छ। यहाँ रहेको पोखरी महाप्रभु लक्ष्मीनारायणले निर्माण गरेका हुन्र यस पोखरी हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र मानिन्छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.