इस्लामाबाद, असोज १: पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएका पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् ।
कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जाबको एटक जिल्लाको सोहान पुल–माखन्द स्टेसनबीचको क्षेत्रमा लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान रेल सेवाका केन्द्रीय प्रवक्ताले बताए।
रेल दुर्घटना भएको केही समयभित्रै प्रहरी, सुरक्षाकर्मीलगायतका उद्धार समूहहरू घटनास्थल पुगी घाइते सबैलाई उपचारका लागि एटकस्थित जिल्ला अस्पतालमा लगिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाले सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनाग्रस्त रेल दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तरपश्चिमी सहर पेसावरतर्फ गइरहेको थियो। दुर्घटनापछि उक्त खण्डमा रेल सेवा अवरुद्ध भएको छ । यसैबीच घटनाबारे अनुसन्धान गर्न एउटा विज्ञहरू संलग्न रहेको छानबिन समिति गठन गरी जिम्मेवारी दिइसकिएको प्रवक्ताले बताए।
पाकिस्तानको संसद्मा पेस भएको एक रिपोर्टअनुसार पाकिस्तानमा सन् २०१३ देखि २०१६ को अन्त्यसम्म ठूला तथा साना गरी ३३८ रेल दुर्घटना भएका छन् भने उक्त घटनामा ११८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कमजोर रेलमार्ग, पुराना गाडी, गैरव्यावसायिक कर्मचारी र पुराना संरचनाका कारण दुर्घटना हुने गरेका छन्।