रेलमार्ग छिट्टै सञ्चालनमा आउने मन्त्री महासेठको दाबी

| 2018 Sep 17 | 03:06 pm 1603

यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने दाबी सम्बन्धित मन्त्रीले गरेका छन् । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए)द्वारा काठमाडौंमा आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यस्तो बताएका छन् ।

मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले एफआइएलाई लगानी गर्न आग्रह गरे । वर्तमान सरकारको ध्यान नै सडक विकास तथा विस्तारमा रहेकाले यस क्षेत्रलाई व्यवस्थित गर्दै लगिनेमा पनि उनले जोड दिए ।

छिमेकी देश चीन र भारतको सहयोगमा नेपालमा हवाई, जल तथा सडक यातायातको विकास हुँदै आएको र अब छिट्टै रेलमार्ग पनि सञ्चालनमा आउँछ भन्दै मन्त्री महासेठले नेपालमा करीब तीन लाख २० हजार भन्दा बढी यातायातका साधन सञ्चालनमा रहेको बताए ।

एशिया प्रशान्तका अध्यक्ष मिके नुनले विश्वको आर्थिक विकासको मेरुदण्ड यातायात नै भएकाले एफआइएले सडक यातायातका साथै पर्यटन र खेलकूद विकासलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे ।

नेपालका २० र २५ देशका ४० गरी ६० जनाको सहभागिता रहेको उक्त सम्मेलनमा अटोमोबाइलसँग सम्बन्धित सङ्घसङ्स्थाहरुले आ–आफ्ना धारणा प्रस्तुत गर्ने भएका छन् । नेपालका सबारी चालकका चालक अनुमतिपत्रलाई विश्वव्यापी मान्यता दिनका लागि उक्त सम्मेलनमा पहल गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.