रेमिटेन्समा गिरावट कायमै

रिपोर्ट नेपाल | 2021 Oct 26 | 07:59 am 1521

काठमाडाैं, कात्तिक ९ः कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा परेको असर बल्ल देखिन थालेको छ। चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घट्न थालेको रेमिटेन्स दोस्रो महिनामा पनि घटेको छ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा यसअघि नै धेरैले रेमिटेन्समा गिरावट आउन सक्ने अनुमान गरेका थिए।

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दुई महिनामा रेमिटेन्स एक खर्ब ५५ अर्ब ३७ करोड रूपैयाँ भित्रिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनमा ६.३ प्रतिशतले कमी हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ८.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ५.८ प्रतिशतले कमी आई १ एक अर्ब ३१ करोड रहेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो।

कोरोना महामारीपछि कैयन गन्तव्य मुलुकबाट मागपत्र नआउँदा वैदेशिक रोजगारी सुस्ताएको छ। हालसम्म श्रम स्वीकृति जारी भएको आधारमा सबभन्दा ठूलो गन्तव्य मानिएको मलेसिया रोजगारी कोराना महामारी सुरु भएपछि ठप्प छ।

अधिकारीहरूले मलेसिया रोजगारी अझै सुरु हुन समय लाग्ने बताएका छन्। त्यस्तै कोरिया रोजगारी पनि सुचारु भएको छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कोरिया रोजगारी सुचारु गर्न पहल भइरहेको बताए। ‘आकर्षक मानिएको कोरिया रोजगारी चाँडो भन्दा चाँडो सुचारु गर्ने पहल भइरहेको छ,’ उनले नागरिकसँग भने। संयुक्त अरब इमिरेट्स, कतार लगायतका अन्य गन्तव्य मुलुकबाट महामारीको बेला मागपत्र आए पनि त्यस्तो संख्या निकै थोरै रहेको व्यवसायीको भनाइ छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने वृद्धि भएर ३८ हजार चार सय ९२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि समीक्षा अवधिमा उल्लेख्य रूपमा वृद्धि भई २२ हजार नौ सय ७६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो। विस्तारै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि अर्कोवर्षदेखि पुनः रेमिटेन्स वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्ष हालसम्मकै उच्च नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.