काठमाडौं, मंसिर १७: अखिल नेपाल फुटबल संघ (एन्फा) र सामूहिक राजीनामा दिएका १० फिफा रेफ्रीबीच सहमति भएको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र रेफ्री प्रतिनिधिहरूबीच बिहीबार रातिसम्म चलेको छलफलपछि उनीहरू सामूहिक राजीनामा फिर्ता लिएर काममा फर्कन सहमति भएको जनाइएको छ।
छलफलमा रेफ्रीको फिटनेस टेस्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग विश्राम भएको समयमा गर्ने सहमति भएपछि रेफ्रीहरू राजीनामा फिर्ता लिएर मैदान फर्कन तयार भएको एन्फा स्रोतले जनाएको छ। अब शुक्रबारबाट सुरु हुने ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल सञ्चालन गर्न उनीहरू मैदान उत्रिने छन्।
रेफ्रीहरूलाई फिटनेस टेस्ट बाध्यकारी बनाउन लागिएको भन्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा व्यस्त रहेका १० रेफ्रीले बिहीबार सामूहिक राजीनामा दिएका थिए। फिफा रेफ्री कविन ब्यञ्जनकार, नवीन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ, प्रज्ज्वल क्षत्रीले सामूहिक राजीनामा दिएका थिए।
यसैगरी फिफा सहायक रेफ्रीमा नानीराम थापा, माधव खत्री, युनाल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किशन यादवले राजीनामा दिएका थिए।
अन्तर्राष्ट्रिय नियम अनुसार रेफ्रीले हरेक तीन÷तीन महिनामा फिटनेस टेस्ट दिनुपर्ने हुन्छ। अहिले ‘ए’ डिभिजन लिग सञ्चालनमा व्यस्त भएका कारण फिटनेस टेस्ट दिँदा मानसिक र शारीरिक रुपमा समस्या हुने र गम्भीर चोटसमेत बोक्नुपर्ने भएकाले लिग सकिएपछि मात्रै फिटनेस टेस्ट लिनुपर्ने माग रेफ्रीहरूको छ। यसैगरी रेफ्री डाइरेक्टर गौतम कौरसँग पनि रेफ्रीहरू असन्तुष्ट देखिएका छन्। उनको कडा स्वभाव र कार्यशैलीप्रति रेफ्रीहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
एन्फा महासचिव इन्द्रमान तुलाधरले पनि फिटनेस टेस्ट तीन÷तीन महिनामा दिनुपर्ने अन्तर्राष्ट्रिय नियम रहेकाले आफूहरूले पनि त्यही नियम अनुसार टेस्ट लिन लागेपछि रेफ्रीहरू असन्तुष्ट हुँदै राजीनामा दिएको बताए। ‘अन्तर्राष्ट्रिय नियम अनुसार रेफ्रीहरूको फिटनेस टेस्ट तीन÷तीन महिनामा गर्नुपर्छ। यसअघि सेप्टेम्बरमा टेस्ट भएको थियो। अब डिसेम्बरमा हुनुपर्छ’, महासचिव तुलाधरले भने, ‘अब अनुकुल समयमा फिटनेस टेस्ट लिनेछौं।’
सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदैछ। तेस्रो चरणका खेलहरू पनि दशरथ रंगशालामै सञ्चालन हुनेछ। शुक्रबार फ्रेन्डस र थ्रीस्टार एवं सातदोबाटो र एपीएफबीच खेल हुनेछ। अन्नपूर्ण पाेस्ट दैनिकबाट