‘रेडलाइट एरिया’को आवश्यकता र ढोँगी मानसिकता

| 2018 Oct 18 | 01:08 pm 20271

– कृष्णप्रसाद सापकोटा

केही साताअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एक अभिव्यक्ति एकाएक चर्चामा आयो । पर्यटन प्रवद्र्धनका लागि सुझाव लिने उद्देश्यले होटल संघ नेपालद्वारा पोखरामा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा मुख्यमन्त्री गुरूङले कार्यक्रमको विषयसुहाउँदो नयाँ बहस सतहमा ल्याएका थिए । उनको अभिव्यक्तिको सार थियो– ‘मुलुकमा रेडलाइट एरियाको बहस सुरु गर्नुपर्ने बेला आएको छ, जब लुकीछिपी यौनधन्दा चलिरहेकै छ भने रेडलाईट एरिया निर्धारण गरी व्यवस्थित तवरले सञ्चालन गर्न किन नदिने ?’ अझ उनले यौन व्यवसायलाई कार्ड सिस्टममा लगेर राज्यले कर असुल्न सक्ने धारणासमेत प्रकट गरे ।

उनको यस धारणाले तीव्र चर्चा मात्र पाएन, पक्ष र विपक्षमा देशैभर विभिन्न टीका–टिप्पणीसहितका प्रतिक्रिया व्यक्त गरिए । यो विषयले सडकदेखि सदनसम्मै तताउन पुग्यो । आफूलाई आधुनिक जमानाका नारी भन्न रुचाउनेहरू समेत मुख्यमन्त्री गुरूङको ‘क्रान्तिकारी’ धारणाको विरुद्ध वक्तव्यबाजीमा उत्रिए । ‘रेडलाइट एरिया’ आवश्यक रहेको र यसबारेको बहस निकै ढिलो भइसकेको भनी पक्षमा प्रतिक्रिया जनाउनेहरूको आवाज अपेक्षाविपरीत मधुरो मात्र सुनियो । सबभन्दा दुःखको कुराचाहिँ के भइदियो भने त्यसपछि मुख्यमन्त्री गुरुङले ‘रेडलाइट एरिया’को पक्षमा थप बोलेको सुन्न पाइएन । अर्थात्, आफ्नो अभिव्यक्ति सही थियो भनी उनले थप प्रष्टिकरण तथा तर्क दिन सकेनन् । यसमा उनको आफ्नै प्रकारको बाध्यता हुन सक्छ ।

वास्तवमा रेडलाइट एरिया निर्धारित गरिनु आवश्यक छ कि यो सामाजिक विकृति नै हो त भन्ने सन्दर्भमा बहस गर्न ढिलो भइसकेको छ । यौन व्यवसायसम्बन्धी विषयलाई सधैँ एक आपसमा गुपचुप या अनौपचारिक कुराकानीमा मात्र सीमित तुल्याएर राख्नु भनेको सामाजिक रूपले पिछडिनु मात्र हो । समाज पिछडिनुको अर्थ देश नै पछि पर्नु हो । के नेपाल अझै पछि परिरहने त ?

यौन व्यवसायको इतिहास खोज्दै जाने हो भने इसाको १८औं शताब्दीमा आएर रेडलाइड एरिया सुरु भएको पाइन्छ । ग्रिस साम्राज्य हुँदै अमेरिका, फ्रान्स, अष्टे«लिया लगायतका पश्चिमी मुलुकमा फैलिएको यो धन्दा व्यवस्थित रूपले सञ्चालन भएको छ । नेदरल्याण्डले वेश्यावृत्तिलाई कानूनी मान्यता दिएको छ भने कैयन विकसित मुलुकमा ‘रेडलाइट एरिया’मार्फत यो व्यवसाय व्यवस्थित गरिएको छ । थाइल्याण्डको कुल बजेटको ३० प्रतिशत हिस्सा यौन पर्यटनले ओगटेको हुँदा उक्त मुलुक यौन पर्यटनकै कारण प्रख्यात छ । यौन पर्यटनलाई अलग्याएर आज थाइल्याण्डको सुदृढ अर्थव्यवस्थाको परिकल्पना गर्न सकिँदैन ।

थाइल्याण्डको कुल बजेटको ३० प्रतिशत हिस्सा यौन पर्यटनले ओगटेको हुँदा उक्त मुलुक यौन पर्यटनकै कारण प्रख्यात छ । यौन पर्यटनलाई अलग्याएर आज थाइल्याण्डको सुदृढ अर्थव्यवस्थाको परिकल्पना गर्न सकिँदैन ।

धेरै परसम्म पुगिरहनै पर्दैन, हाम्रै छिमेकी देश भारतमा पनि अघोषित रेडलाइट एरिया व्यवस्थित तवरले चलिरहेकै छ । समाजले बर्जित ठानेको तर समाजले नै जीवित राखेको यो व्यवसाय पछिल्लो समय झन् मौलाउँदै छ भन्दा अत्युक्ति ठान्नुपर्ने आधार छैन । यस्तो माहोलमा बढ्दो यौन व्यवसायको श्रृङ्खलाले नेपाललाई पनि प्रभावित नगर्ने सवाल नै रहँदैन । तथापि, नेपालको कानूनले यौन पेसालाई अवैध ठानेको छ । त्यसैले त मुख्यमन्त्रीकै तहबाट रेडलाइट एरियाको आवश्यकता सार्वजनिक तवरमै उठेको हो । अनि, घरबाहिर यौनको आनन्द उठाउन पनि खोज्ने तर ‘यस्तो कुरा बर्जित हुनुपर्छ’ पनि भन्ने ढोँगी मानसिकतालाई नङ्ग्याउनै पर्ने आवश्यकता पनि यसैकारण देखिएको हो ।

हामी खुलेर भन्न र स्विकार गर्न डराउँछौं । कुनै नाङ्गो तस्बिर वा भिडियो आयो भने हामी सबै हेर्न उत्सुक हुन्छौँ, लुकीलुकी हेर्छौं तर बाहिर नैतिकवान आदर्शवान देखिन पनि उत्तिकै प्रयत्न गर्छौं । आजको समाजमा यौनका भोका र अतृप्त आत्माहरू जताततै छन् । यस्ता अतृप्त आत्माहरू आदर्शको खोल ओढेर अन्धकारमा सिकार खोज्न भौंतारिइरहेका छन् । शरीर बेचेर माथि पुग्ने स्त्री र शरीर किनेर वा मागेर पद–पैसा बाँड्ने पाखण्डीहरूको पनि कमी छैन हाम्रो समाजमा । त्यसैले यदि कसैलाई आफ्नो शरीर बेच्न र कसैलाई किनेर मन बहलाउन अनि जिन्दगी चलाउन मन छ भने बाटो खुला गरिदिनु पर्छ । बरु त्यसलाई कसरी कानुनी दायरामा ल्याई मर्यादित बनाउने विधि निर्माण गरौँ जसले गर्दा कसैले यौनको भोककै लागि अबला र कलिला बालिकाहरूको बलात्कार नगरोस् ।

हाम्रो समाजले विवाह नगरी यौनसम्बन्ध राख्न हुन्न भन्थ्यो र आज पनि भन्छ । त्यसो भन्नुको एउटा मुख्य कारण यौन अनुशासन कायम गर्नु हो भने अर्को चाहिँ यौनसम्पर्क पछि हुनसक्ने गर्भाधान र त्यसले अविवाहित युवतीको जीवनमा ल्याउन सक्ने सामाजिक समस्या पनि हो । विवाहअघि कुनै युवती गर्भवती भइन् भने समाजले तिरस्कार गर्छ । तर, विज्ञानको विकाससँगै गर्भनिरोधका लागि अनेक विधि वा साधनको विकासका कारण यससम्बन्धी समस्या निराकरणमा ठूलो टेवा पुगेको छ । अब वयस्क युवायुवतीहरूले कोसँग यौनसम्बन्ध राख्ने वा नराख्ने, कसरी राख्ने भन्ने कुरा उनीहरूको चाहना र अधिकारकै कुरा भएको छ । वास्तवमा आपसी सहमतिमा जो कसैले बन्द कोठाभित्र सम्बन्ध राख्न पाउनु उनीहरूको व्यक्तिगत अधिकारको कुरा हो ।

विश्वका थुप्रै देशमा यौन व्यवसायलाई निमिटान्न पार्न खोजियो, तर अन्ततः रेडलाइट एरिया घोषित भएपछि मात्र यौन व्यवसाय व्यवस्थित बन्न सकेका उदाहरण छन् ।

प्राचीन ग्रन्थहरूमा समेत विश्वमा वेश्यावृत्ति आदिम कालदेखि अस्तित्वमा थियो भनेर पढ्न पाइन्छ । यौनकर्मी र वेश्यावृत्ति धेरै देश र समाजमा छन् भन्ने कुरा कसैबाट लुकेको छैन, चाहे तीदेशमा कानुन बनाएर कर उठाइएको होस् वा नहोस् । कसैले रहर वा सौखले त कसैले बाध्यताले पैसा वा आनन्दका लागि शरीरको किनबेच गरिरहेका हुन्छन् । मानिसको यौनचाहना कुनै कानुनको धारा लगाएर रोक्न सकिने कुरा होइन भन्ने कुरा पुष्टि हुने अनेक उदाहरण संसारमा छन् । पछिल्लो तथ्याङ्कअनुसार संसारका ७७ देशले वेश्यावृत्तिलाई पूर्ण रूपमा कानुनी मान्यता दिएका छन् भने ११ मुलुकले आंशिक रूपमा मान्यता प्रदान गरेका छन् ।

कानूनले नदिँदा पनि फस्टाएको यौन व्यवसायले संस्कृति परम्परालाई चुनौती नदिएको होइन, वास्तवमा यही चुनौती सामना गर्नका लागि पनि यसलाई वैधानिक तुल्याउनु आवश्यक छ । विश्वका थुप्रै देशमा यौन व्यवसायलाई निमिटान्न पार्न खोजियो, तर अन्ततः रेडलाइट एरिया घोषित भएपछि मात्र यौन व्यवसाय व्यवस्थित बन्न सकेका उदाहरण छन् । नेपाल जस्तो विपन्न मुलुकमा जबर्जस्ती यसलाई रोक्न खोज्नु बालुवामा पानी हालेर फसल उमार्न खोज्नु जस्तै हो । त्यसैले यौन व्यवसायलाई निमिट्यान्न पार्नेतिर लाग्नुको साटो कानुन बनाएर वैधानिकता प्रदान गर्नुको विकल्प देखिँदैन ।

समाजमा व्याप्त बलात्कार र यौनहिंसाका पछाडि यौन–बन्धनको पनि मुख्य भूमिका छ । तसर्थ, यौन अपराध रोक्न निकै हदसम्म सहयोग पनि गर्ने भएकोले कसैलाई शरीर किन्न र बेच्न मन छ भने कुनै निश्चित ठाउँ छुट्याइदिनै पर्छ । जसले गर्दा कुनै रोकटोक अनि भयबिना मानिसहरूले आफ्नो चाहना पूरा गर्न पाऊन् । सहमतिमा माया साट्न कुनै होटल वा लजमा पुगेका जोडीलाई तर्साउने र सामाजिक रूपमा मानमर्दन गर्ने अपराध अब राज्य वा राज्यका कुनै निकायले गर्नु मनासिव ठहरिँदैन ।

सहमतिमा कुनै होटल वा लजमा माया, प्रेम साटिरहेका जोडीलाई अवैधानिक क्रियाकलाप गरेको भन्दै पक्रिएर बेइजत गर्नु घोर अमानवीय कर्म हो ।

नेपालमा यौनजन्य अपराध बढ्नुको कारण नै यौनजन्य गतिविधिलाई निकै सङ्कुचित रूपमा हेरिनु, निकै गोप्य राखिनु, यसको बारेमा खुला रूपमा बोल्न, लेख्न तथा छलफल गर्न हिचकिचाउनु हो । यदि हामीकहाँ पनि विकसित मुलुकमाझैँ यौनलाई खुला रूपमा व्यवसायिक तवरबाट ब्यवस्थित गरिएको हुँदो हो त कुन्ठित यौनइच्छा तृप्तिका लागि कसैले कसैको बलात्कार गर्ने तथा बलात्कारजन्य हत्याहिंसाका घटनामा निकै कमी आउने थियो भनी दाबीका साथ भन्न सकिन्छ ।

सहमतिमा कुनै होटल वा लजमा माया, प्रेम साटिरहेका जोडीलाई अवैधानिक क्रियाकलाप गरेको भन्दै पक्रिएर बेइजत गर्नु घोर अमानवीय कर्म हो । सहमतिमा कोठाको चुकुल र झ्यालका पर्दा लगाएर कोठाभित्र सुत्नु कसरी गैरकानुनी हुन्छ ? यो सवालमा गम्भीर भई सोच्नु र आवश्यक व्यवस्था गर्नु कुनै पनि लोकतान्त्रिक राज्यको दायित्व हो ।

यसर्थ, मुख्यमन्त्री गुरूङले आफ्नो प्रदेशको सन्दर्भमा जुन धारणा सार्वजनिक गरे, यसलाई अन्यथा अर्थमा लिनु, व्याख्या गर्नु वा आलोचनाको विषय बनाउनु फोस्रोपन या ढोँग मात्रै हो । जति नै रोक्न खोजिए पनि यस्तो धन्दा चलिरहेकै छ । व्यवसाय भएकै छन् । बेकार पुलिसले समात्ने अनि रकमको चलखेल गरेर छुट्ने–छुटाइने प्रवृत्ति फष्टाएको छ । यस्तो गर्नु झन् ठूलो विकृति, अन्याय र मानवाधिकारविरोध विषय हो ।

अहिले भइरहेको प्रवृत्तिले समाजलाई फाइदा नपुग्ने तर्क जसरी मुख्यमन्त्री गुरुङले गरे, यो जायज अभिव्यक्ति हो । उनले भनेजस्तै गरी खास एरिया तोकेर सम्बन्धित व्यवसायीलाई कार्ड उपलब्ध गराउन सकिन्छ । प्रहरी या सरोकारवाला निकायले अनुगमन गर्नुपर्दा त्यही कार्ड देखाउँछ । सबभन्दा ठूलो कुरा त उसले सरकालाई कर पनि तिर्छ । वास्तवमै यस्तो कामलाई व्यवस्थित गर्न नसके, या लुकेर यौन व्यवसाय गर्न विवश बनाइराखे यसबाट समाजलाई हानी मात्र पुग्छ । व्यक्ति पाखण्डी बन्न खोजे पनि सिङ्गै राज्य अब पाखण्डी नबनोस्, यौन व्यवसायलाई व्यवस्थित गर्ने तदारुकता देखाइहालोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.