रूकुम घटनाका ३४ जनाविरुद्ध जिल्ला अदालतमा जन्मकैद मुद्दा दर्ता

रिपोर्ट नेपाल | 2020 Jun 15 | 09:39 am 2332

रुकुम पश्चिम, असार १ः रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछिको हत्या घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ ।

मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारका रूपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको छ । मुद्दा लागेकामध्ये पाँच जना फरार छन् भने बाँकी सबै पक्राउ परेका छन् ।

गत १० जेठमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

घटनामा परी मारिएका भेरी नगरपालिका–११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।

१३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.