रुपन्देही, चैत ७: जिल्लाको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । हत्या हुनेमा ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजन रहेका छन् ।
उनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको हो।
चैत ४ गते विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो । स्थानीयवासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले चार सय छात्रवृत्ति रकम प्रदान गरेको थियो ।
सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।
उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशङ्कामा प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताए ।
हत्याको आशङ्कामा आकाशका परिवारजनले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।